अमरराज आचार्य
सोमवार, मंसिर १६, २०७६
310

दाङ-घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा चालू आव ०७६-७७ को पहिलो चौमासिकमा ७९ वटा मुद्दा परेका छन् ।
न्यायिक समितिले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको छ । पत्रकार सम्मेलनमा न्यायिक समितिका संयोजक तथा घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले चालू आवको चार महिनाको अवधिमा ७९ मुद्दा परेको जानकारी दिइन् । यसरी परेका मुद्दामध्ये २२ वटा मिलापत्र भइसकेका छन् भने ५९ वटा मुद्दा प्रक्रियामा रहेको उनको भनाइ छ । समितिमा परेका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा जग्गा रोक्का २१ वटा मुद्दा परेको जानकारी दिइन् । जुन २ वटा मिलापत्र भइसकेको र १९ वटा प्रक्रियामा रहेको बताइन् । समितिमा लेनदेनका १३ वटा मुद्दा परेका थिए । हालसम्म ५ वटा मिलापत्र भएको र ८ वटा प्रक्रियामा रहेको छ ।
जग्गा विवादसम्बन्धी १४ वटा परेकोमा ७ वटा मिलापत्र भएको र ७ वटा प्रक्रियामा छन् । कुलो पानीसम्बन्धी १ मुद्दा परेकोमा प्रक्रियामा रहेको छ । अन्य शिर्षकमा १२ वटा मुद्दा परेकोमा ४ वटा मिलापत्र भएको र ८ वटा प्रक्रियामा रहेका छन् । वातावरणसम्बन्धी ३ वटा मुद्दा परेकोमा ३ वटै प्रक्रियामा रहेको संयोजक न्यौपानेले बताइन् । त्यसैगरी घरेलु हिंसासम्बन्धी ७ वटा मुद्दा परेकोमा २ वटा मिलापत्र भएको र ५ वटा प्रक्रियामा छन् । गाली बेइज्जतिसम्बन्धी १ मुद्दा परेकोमा तयो पनि प्रक्रियामा छ । माना चामलसम्बन्धी ७ मुद्दा परेकोमा २ वटा मिलापत्र भएको र ५ वटा प्रक्रियामा रहेको न्यायिक समितिकी संयोजक न्यौपानेको भनाइ छ । समितिमा अघिल्लो आर्थिक वर्ष परेका बाँकी रहेका १ सय २६ मुद्दामध्ये कात्तिक मसान्तसम्म १७ वटा मुद्दा मिलापत्र भएको र १ सय ९ वटा मुद्दा प्रक्रियामा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । न्यायिक समितिले ससाना मुद्दा मिलाउन वडालाई नै जिम्मा दिएकाले मुद्दा कम भएको जनाएको छ । पहिलो चौमासिकमा परेका मुद्दामध्ये ऐलानी जग्गा विवाद बढी रहेको न्यायिक समितिकी संयोजक न्यौपानेको भनाइ छ । न्याय सम्पादनमा कुनै पनि समस्या नभएको उनको भनाइ छ । अहिले कर्मचारी पनि भएको र छुट्टै इज्लासको समेत व्यवस्था गर्न लागेको न्यौपानेले बताइन् । “अहिले न्याय सम्पादनमा कुनै प्रकारको समस्या छैन,” न्यौपानेले भनिन् ।