कृञ्जला पुलामी
आइतवार, मंसिर १, २०७६
1358

सिन्धुलीको तीनपाटन गाउँपालिकाका जनप्रतिनिधिविरुद्ध स्थानीयले मुद्दा हालेका छन् । गाउँपालिकाका २, ३ र ६ नम्बर वडाका अध्यक्षविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासमा मुद्दा हालेका हुन् ।
गाउँपालिकाको २ नम्बर वडादेखि ६ नम्बर वडासम्मका लागि खनिएको बाटोको स्तरोन्नतीका लागि विनियोजित बजेट हिनामिना तथा स्टमेट अनुसारको काम नगरेको भन्दै स्थानीयले मुद्दा दायर गरेका हुन् । स्थानीय विरपति घलानको नेतृत्वमा स्थानीयले २ का अध्यक्ष हेमबहादुर श्रेष्ठ, ३ का लालबहादुर स्याङ्तान र ६ का अध्यक्ष विरबहादुर पुलामीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

२ नम्बर वडाको भिमस्थानदेखि ३ नम्बर वडा हुँदै ६ नम्बर वडाको बालाजोरसम्मको बाटो स्तरोन्नतीका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको थियो । सोही रकमबाट केही मात्रामा काम भएपनि सन्तोषजनक रुपमा कुनै पनि वडामा काम नभएको स्थानीय घलानले बताए ।
सुरुमा योजना सम्पन्न गर्नका लागि उपभोक्ता समिति गठन गर्दादेखि नै वडा अध्यक्षहरु हावी भएको र आफू निकट मानिसलाई हस्ताक्षर गर्न लगाइएको उनले आरोप लगाए । “समिति पनि एउटा कोठामा बसेर बनाए, त्यति गर्दा पनि हामी चुप लागेर बसेका थियौं,” उनले भने, “काम पनि सहि ढंगले भएन, कुनै ठाउँमा पनि स्टमेट अनुसारको काम नभएपछि मुद्दा हालेका हौँ ।”
उनका अनुसार २ र ६ नम्बर वडामा केही सन्तोषनक काम भए पनि ३ नम्बर वडामा भने पटक–पटक गरेर बाटो खनिए पनि गुणस्तर नपुगेको उनले बताए । रकम अनुसार काम नभएपछि उपभोक्ता समितिकै पदाधिकारीहरुले पनि असन्तुष्टि व्यक्त गरेका छन् । समितिका सदस्य छत्रबहादुर थापाका अनुसार जम्मा आएको ५० लाख बजेटमा ३ वटै वडाका लागि रकम भाग लगाइएको थियो । सो रकमले ६ नम्बर वडामा २०८ घण्टा जेसिवी र २१ घण्टा स्काभेटर प्रयोग भएको बताए । त्यस्तै ३ नम्बर वडामा एक सय घण्टा स्काभेटर चलाइएको सदस्य थापाले बताए । तर २ नम्बर वडामा भने गुणस्तरअनुसार काम भएको पाइएको छ ।
पहिले नै ट्रयाक खोलिएको बाटोमा स्तरोन्नतीका लागि भनेर आएको बजेट फेरी बाटो खन्ने काम मात्र भएको स्थानीय मित्रबहादुर घलानले बताए । उपभोक्ता समितिका सदस्य समेत रहेका मित्रबहादुर बजेट अनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् । “गाउँपालिका कार्यालयमा समिति बन्यो, त्यही पनि म व्यक्तिगत कामको शिलशिलामा गएको थिएँ, उसै सदस्यमा राखिदिए,” उनले भने, “समितिमा को–को छन्, पनि थाहा छैन, काम पनि आफूखुसी गरे ।”
उनका अनुसार ३ वटै वडालाई पैसा भागबण्डा गरिएको हो । जसमा वडा नम्बर २ र ३ लाई १५–१५ लाख र ६ नम्बर वडालाई २० लाख रुपैयाँ बाडफाँड गरिएको थियो । २ नं वडाका अध्यक्ष हेमबहादुर श्रेष्ठ भने स्टमेटअनुसार नै काम भएको बताउँछन् । एउटै उपभोेक्ता समिति गठन गरेपनि आ–आफ्नो वडामा भिन्नाभिन्नै काम गरेकाले पनि त्यस्तो गुनासो आएको हुनसक्ने भन्दै अध्यक्ष श्रेष्ठले स्टमेटअनुसार पूरा काम सम्पन्न भएको बताए । उनले मुद्दा हालेको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उपभोक्ता समिति बस्न नपाएको रिसमा आफूविरुद्ध मुद्दा हालिएको हुन सक्ने बताए ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक पदममाया तामाङ पनि मुद्दा हालिएको विषयमा आफूलाई जानकारी नभएको भन्दै काम भने स्टमेटअनुसार नै भएको बताउँछिन् । “क्वान्टिटी र क्लालिटीको कुरा थाहा भएन, इन्जिनियरसहितको अनुगमनमा काम राम्रो भएको पाएका छौँ,” उनले भनिन्, “स्थानीयहरुले पनि काम राम्रो भएको भनेका छन्, यदि क्वान्टिटी नपुगेको पाइएमा म पनि जिम्मेवार हुनेछु ।” उनले बारम्बार स्थानीयलाई बाहिरको इन्जिनियर ल्याएर अनुगमन गर्न भनिएको र सो बमोजिम काम नभए गाउँपालिका पनि जिम्मेवार हुने बताइन् ।