प्रकाश लम्साल
आइतवार, मंसिर १, २०७६
805

गढीमाई (बारा)-बाराको गढीमाई मन्दिरमा एक महिनाभर लाग्ने पञ्चवर्षिय गढीमाई मेला मंसिर १ गते आइतबार (आज) बाट सुरु भएको छ । लाखौं भक्तजन तथा धार्मिक पर्यटक आउने यो मेलालाई दक्षिण एसियाकै ठूलो मेला मानिन्छ ।
पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरी आफ्नो भाकल गर्ने र अर्को मेलामा बलि चढाउने परम्परा रहेको यस गढीमाईमा भारतको धेरै जनसंख्या भएका राज्यहरु बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल सहित पूरै भारतका विभिन्न क्षेत्र, बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरु बाटदर्शनार्थीको ओइरो लाग्छ ।
मन्दिरबाट पूर्व दक्षिणतिर पीपलबोटसँगै रहेको बह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अन्य दर्शनार्थीहरुको लागि दर्शन खुला गरिने मूल पुजारी मंगल चौधरीले बताए ।
गढीमाईलाई दिइने पंच बलिमध्ये सेतो २ मुसा पुजारीहरुको समूहले १७ गते बनमा गई तान्त्रीक पूजा गरी भेटिएको सेतो मुसासहित बोका, लोकल कुखुराको भाले, सुँगुर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफैं प्रज्वलित हुनेछ ।
रातको २ बजेदेखि पूजा प्रारम्भ गरी दियो प्रज्वलित भएपछि लगतै हाँसको ५ वटा अण्डा बलि दिई अण्डामै त्रिशूल गाडिने छ । अनि ५ बटा राँगा मन्दिरकै मौलामा बलि गरेपछि भाकल गरी ल्याएका श्रद्धालुहरुको पशु बलि खुल्ला हुने प्रचलन रहिआएको छ ।
बिगतमा करिब एक करोड अनुमान गरिएको भए पनि करिब ८० लाख भक्तजन आए पनि यस पटक करोड पुग्ने गढीमाई मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशुबाहको दाबी छ ।
१५ सय सुरक्षाकर्मी, राष्ट्रिय राजमार्गबाट ६ बटा बाटो, सिमानाकामा ब्यापक चेकजाँच गस्ती, दमकल, एम्बुलेन्स, ५ सय स्वयंसेवक, ६ सय शौचालय, अरिरिक्त बिजुली, पानी, सयौँ निःशुल्क पंडालहरु समितीले व्यवस्थापन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलले सुरक्षा संवेदनशिलतालाई उच्च रुपमा राखेर सुरक्षा व्यवस्था चुस्त राखिएको बताए । शौचालय, पानी, लुटपाट, विशाक्त मदिरा, अनियन्त्रित भिड, कोलाहल, १५ सय सुरक्षाकर्मी समेत अपुग जहिँतहिँ हिलो फोहर, बासस्थान,१० किलोमिटरदेखि नै ट्राफिक जाम मेलामा मुख्य समस्या हुने गर्दछ ।
मेला अवधिभर बारामा करोडौको खाद्यान्न, पानी, चुरोट, मदिरा, मासु पेय पदार्थ लगाएतका वस्तु व्यापार हुने र अत्यधिक भारतिय रुपैयाँ भित्रिने गर्दछ ।
भारतिय सवारीसाधनमा समूह बनाई भारतीयहरू परिवारसहित सातादिनसम्म पूजाआजा गरी मेला हेर्ने र समूहमै खाना बनाएर खुल्ला स्थानमा सुत्ने गर्दछन् । पछिल्लो समय नेपालका विभिन्न स्थानहरूबाट पनि मेलाको समयमा मदिर आउने क्रम बढ्दो रहेको छ ।

करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतेहरूको शासनकालमा भएको मानिन्छ । कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढी माईमा तिनै व्यक्ति पुजारी बनेछन् ।
हालसम्म पनि गढी माईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ । सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढी माईस्थानमा बास बसेछन् । किंवदन्ती अनुसार, उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढी माई क्षेत्रमै छ । बारा, बरियारपुरकी गढी माईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्दछिन् भन्ने जनविश्वास छ । स्थानीय जनश्रुति अनुसार, कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन् । उनी देवीलाई प्रसन्न पारेर बाघहरूलाई आफ्नो अधीनमा लिन्थे र गोरु तथा राँगासरह अन्नपातको दाउनी गर्न प्रयोग गर्दथे ।
गढी माईमा प्रत्येक पाँच वर्षको पूजा एकै पटक सम्पन्न गर्ने चलन छ । त्यस अवसरमा सेतो मुसा, पाठो सुँगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन छ । एकै पटक सबैभन्दा बढि संख्यामा राँगाको बलि दिइने स्थान पनि गढी माई नै हो । यी देवीले भक्तको मनोकांक्षा पूरा गर्ने जनविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठूलो भीड लाग्ने गरेको हो जहाँ आउने ८० प्रतीशत भारतियले बलि चढाउने गर्दछन् । अघिल्लो मेलामा भारतले रोक्दा रोक्दै पनि १८ हजार राँगा र लाखौ बोका, हाँस, कुखुरा बलि चढेको थियो ।

बलि रोकिँदैन, बरु बढ्छ
कसैले आस्थाले भगवानलाई चढाउन ल्याउने बलि रोक्न नमिल्ने र रोक्न नसक्ने मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । भक्तजनहरूमा गढीमाईको आस्था बढ्दै गएको बताउँदै उनले २६ वर्षदेखि प्रत्येक मेलामा बलि बढेको देखेको दाबी गरे ।
मूल पुजारी चौधरी भन्छन्, “हामीले कसैलाई बलि लिएर आउ भन्ने होइन, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।”
बलिकै विषयमा साताअघि आयोजित कार्यक्रममा दि जेन गुडविल इन्स्टिच्युटका कार्यकारी निर्देशक मनोज गौतमले गढीमाई मेलामा दिइने पशुबलि रोक्न आफूले ११ वर्षदेखि संघर्ष गर्दै आएको बताएका थिए । उनले सन् २०१४ मा रिट निवेदन दिएको र लामो समयपछि सर्वोच्चले पैmसला गरे पनि कार्यान्वयन पक्ष फितलो रहेको जानकारी समेत उनले उनले दिए ।
कार्यक्रममै बाराका प्रजिअ फणीन्द्रमणि पोखरेलले सर्वोच्च अदालतले गढीमाई मेलामा पशुबलिमा पूर्ण रोक लगाउन नभई निरुत्साहित गर्न आदेश दिएको स्पष्ट पारे । वक्ताहरूले शक्तिपीठहरूमा नरिबल, कुभिन्डो, घिरौला आदिको सात्विक बलि दिने प्रचलन पनि रहेको जानकारी गराउँदै यसलाई गढीमाई मेलामा पनि प्रचलनमा ल्याउन जोड दिएका थिए ।