कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६
390

सिन्धुपाल्चोक-अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटेमा बस दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मत्यु भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो ।
प्रहरीका अनुसार मृतक १६ मध्ये १० महिलामा एक बालिका र पाँच पुरुषमा ३ बालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् । बाँकीको पहिचान हुन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।
आइतबार सवा एक बजे भएको दुर्घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । दुर्घटनामा ३० बढी घाइते छन् । सिन्धु सहावहार अस्पताल खाडीचौरमा २० जनाको उपचार भइरहेको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा पनि घाइतेको उपचार भइरहेको छ ।
बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदीमा डुबेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिए पनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाइ छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । केही शवहरु खोलाले बगाएको थियो । नदीले बगाएका शवलाई स्थानीयले पौडी खेलेर उद्धार गरेका स्थानीय रमेश खड्काले जानकारी दिए । पानी धमिलो हुँदा उद्धारमा समस्या परेको खड्काको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान छ ।

किशोर बुढाथोकी