कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६
605

घाट सेवा केन्द्रका कर्मचारीहरुले शवदाह बन्द गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि पशुपति क्षेत्र विकास कोष उनीहरुको सेवा सुविधा बढाउन सहमत भएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउन माग गर्दै शव जगाउने लगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउन सहमत भएको हो ।
उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए । त्यस लगतै कोषले कर्मचारीहरुसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान लागिएको जनाएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अब एउटा शव जलाएबापत १५ सय रुपैयाँ पाउनेछन् भने औषधि उपचार खर्च १५ हजार पाउनेछन् । यसअघि उनीहरुले एउटा शव जलाएबापत १२ सय रुपैयाँ पाउने गरेका थिए भने औषधि उपचार खर्च पाँच हजार पाउने गरेका थिए । त्यसैगरी अवकाश पाउँदा उपदानबापत डेढ लाख पाउनेमा पाँच लाख पु-याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन् ।
सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको पनि जानकारी दिए । त्यसैगरी १५ वर्ष बढी सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादानबापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पु-याउने सहमति पनि गरिएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश डंगोलले १५ वर्षभन्दा बढी काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पु-याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना पनि अघि सारेको छ । शव दहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताए । हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दोहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ ।