कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६
581

मानव तस्करसँग मिलेर अनधिकृत रुपमा वैदेशिक रोजगारका लागि विदेश पठाउने भूमिका खेलेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीसमेत १३ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मानव तस्करसँग मिलेर २ सय ४८ जनालाई अनधिकृत रुपमा वैदेशिक रोजगारका लागि कतार तथा दुवईमा भिजिट भिसामा विदेश पठाउने भूमिका खेलेको उनीहरुमाथि मुख्य आरोप छ । विमानस्थलका अध्यागमन अधिकृत पराजुलीले २० जना वैदेशिक रोजगारमा जान लागेका महिलालाई कुनै पनि कागजात रूजु नगरी प्रस्थान अनुमति दिएको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

पराजुलीले प्रयोग गर्ने मोवाइलको कल रेकर्डस् एवं अन्य तथ्यहरुको अनुसन्धान गर्दा उनीसहित अन्य अध्यागमन अधिकृतहरुको मिलेमतोमा २ सय ४८ जनालाई प्रस्थान अनुमति दिएको देखिएको अख्तियारको ठहर छ । उनीहरुले प्रस्थान अनुमति दिएबापत मानव तस्करसँग प्रतिव्यक्ति दश हजार लिने गरेको पनि अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारले पराजुली सहित अन्य अधिकृतहरु मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिंह भण्डारी, पदम प्रसाद बजगाईँ, जगदिशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपानेविरुद्ध आरोप पत्र विशेष अदालतमा दायर गरेको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत गैरकानुनी घुस रिसवत २४ लाख ८० हजार विगो असुल उपरसहित सरकारी प्रमाण नष्ट गरेको आरोपमा समेत सजाय दिन माग गरीएको छ । साथै अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।