कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
654

बुद्ध एयरको काउन्टर र जनकपुर विमानस्थलमा तोडफोड तथा कार्यालयका कर्मचारीमा दुरव्यवहार गरेका सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर प्रहरी कार्यलय धनुषाको उजुरीमा प्रहरी अपराध महाशाखा काठमाडौंले पक्राउ पूर्जी जारी भएपछि साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको हो । सांसद साह हवाई मार्ग हुँदै सोलुखुम्बु जान तयारीमा विमानस्थल पुगेलगत्तै आन्तरिक कक्षबाट पक्राउ परेका हुन् ।
साहले सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर र विमानस्थल कार्यालयमा तोड फोड गरेका थिए । विमानले समयमा यात्रु उडान गर्ने नसकेर ढिला गरेको र यात्रुको सम्मान गर्न नसेको, बारम्बार अनुरोध गर्दा पनि विमानस्थलको सरसफाई नभएको भन्दै साहले विमानस्थल कार्यालय तोडफोड गरेको जनाएका थिए । तोडफोड भएको उजुरी परेपछि अदालतले पक्राउ पूर्जी जारी गरेर साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निजी हवाई सेवा प्रदायकहरुको छाता संघठन वायुसेवा सञ्चालक संघ नेपालले विमानस्थलमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे जनकपुर उडान नगर्ने चेतावनी दिएको छ । संघले सातदिन भित्र कारबाही नभए सुरक्षाका कारण जनकपुरमा कुनै पनि उडान नगर्ने चेतावनी दिदै संघका अध्यक्ष क्या. रामेश्वर थापाले प्रेस विज्ञप्ति जाीर गरेका थिए । साहलाई पक्राउ गरेपछि प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा राखिएको छ भने प्रहरी कार्यालयले अदालतमा म्याद थप गरेर अनुसन्धान प्रकृया सुरु गरेको प्रहरीले जनाएको छ ।