नेपाल प्रेस युनियनले आफ्ना महासचिव अजयबाबु शिवाकोटीलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपसम्बन्धी समाचार प्रकाशित गरेपछि महासचिव शिवाकोटीमाथि सुरक्षा चुनौती रहेको ठहर प्रेस युनियनले गरेको छ ।
“आकस्मिक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरू आउने क्रम शुरू भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ,” युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकबमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।”
शिवाकोटी सम्पादक रहेको अनलाइन हाम्राकुरा डटकमले उनकै बाइलाइनमा महरामाथिको आरोप सम्बन्धमा पहिलोपटक समाचार प्रकाशित गरेको थियो ।