कारोबार संवाददाता
आइतवार, आश्विन १२, २०७६
576

गोरखा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गोरखाबाट उजुरी पर्ने क्रम बढेको देखिएको छ । आर्थिक वर्ष २०७४-७५ मा २६ वटा उजुरी दर्ता भएकोमा गत आर्थिक वर्षमा ३५ वटा उजुरी दर्ता भएको हो ।
आयोगको क्षेत्रीय कार्यालय पोखराका अनुसार ३५ वटा उजुरी परेकोमा २३ वटा उजुरी फछ्र्योट भएको छ भने १२ वटाको अनुसन्धान भैरहेको छ । क्षेत्रीय कार्यालयका उपसचिव मेघनाथ रिजालका अनुसार गत वर्ष परेकामध्ये सबैभन्दा धेरै शिक्षा कार्यालयसग सम्बन्धित उजुरी रहेका छन् ।

शिक्षा कार्यालय अन्तर्गत विद्यालय भवन निर्माणका क्रममा प्रधानाध्यापक, ठेकेदार र प्राविधिकको मिलेमतोमा कमसल सामग्रीको प्रयोग गरिएको, विभिन्न शिर्षकमा विनियोजित बजेट प्रधानाध्यापकको किर्ते विल भरपाई बनाई हिनामिना गरेको लगायतका उजुरी परेको रिजालले जानकारी दिए । यस्तै शिक्षक सरुवा नियम विपरित गरेको, नक्कली ठेकेदारलाई पैसा दिएपछि विद्यालय भवन निर्माण अलपत्र परेको लगायतका उजुरीका विषयमा अनुसन्धान भैरहेको उनको भनाइ छ । शिक्षासँग सम्बन्धित १० वटा उजुरी परेका छन् ।
शिक्षापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकाय सम्बन्धी ९ वटा उजुरी परेको आयोगको क्षेत्रीय कार्यालयले जनाएको छ । यस्तै खानेपानीसँग सम्बन्धित ५, वन तथा वातावरण सम्बन्धी ४, गृह र उद्योग सम्बन्धी २-२ वटा उजुरी परेको छ । गत आर्थिक वर्ष गृहसँग सम्बन्धित उजुरीमा वैकल्पिक वासस्थान भएका भूकम्पपीडितले पनि राहत रकम लिएको र अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको उजुरी परेको अख्तियारको क्षेत्रीय कार्यालयका प्रमुख काशिराज दाहालले बताए ।
ती दुवै उजुरीका विषयमा अनुसन्धान भैरहेको उनको भनाइ छ । आयोगले जिल्लाबाट प्राप्त हुने उजुरीलाई कुन मन्त्रालय अन्तर्गत पर्छ भनेर वर्गिकरण गरि कारवाही प्रक्रिया अघि बढाउने गरेको छ । जसअनुसार उर्जा, सहकारी तथा गरिबी र अन्य संघसंस्था सम्बन्धित १÷१ वटा उजुरी परेका छन् । गैरसरकारी संस्था सम्बन्धी पनि एउटा उजुरी परेको क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।