कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४
2056

कालिकोट-खेतीकिसानीबाट कार किन्न सम्भव छ ? छ । कालिकोटका पौरखी किसानले कृषि बालीबाट आर्जन गरेको कमाइले गाडी किनेका छन् । खाँडाचक्र नगरपालिका– ४ बद्रीगाउँका पौरखी किसानहरूले तरकारी बेचेर नै कारलगायतका सवारीसाधन जोडेका छन् । आलु, गोलभेंडा, काउली, गाजर, प्याजलगायतका तरकारीको आम्दानीले उनीहरूले सवारी साधनका पनि मालिक बनेका हुन् । खाँडाचक्रका हरिचन्द्र आचार्य, ठम्म आचार्य, ऋषि आचार्य र प्रकाश आचार्यलगायतका किसानले आफ्नै बारीमा लगाएको तरकारी बेचेर सवारी साधन किनेका हुन् । हरिचन्द्रले आफ्नो लागि मात्रै जीप किनेका छैनन्, उनले सार्वजनिक भाडाको लागि समेत जीप किनेका छन् । ठम्मले त झन् दुईवटा निजी जीप किनेका छन् भने र ऋषिले र प्रकाशले एक–एकवटा गाडी किनेका छन् ।
यस्तै, बद्रीगाऊँका अन्य आठ जना किसानले पनि ट्याक्टर, ट्रकलगायतका सवारी तथा ढुवानीका साधन किनेका छन् । उनीहरू तरकारीको आम्दानीबाटै कार चढ्ने हैसियतमा पुगेका हुन् । बद्रीगाउँका तरकारी किसानहरूले जीप कारमा हैन् सदरमुकाममा मान्मलगायतका सहरहरूमा ठूलाठूला घरसमेत बनाएका छन् । प्रायले किसानहरूको सुर्खेत र नेपालगञ्जजस्ता सहरमा घर–घडेरीसमेत जोडेका छन् । कर्णालीमा सडक नपुगुञ्जेल गाउँमा तरकारी उत्पादन गरेर २ घण्टाको पैदल दूरीमा मान्म बजार डोको तरकारी बोकेर बिक्री गर्ने बद्रीगाउँका किसानहरू अहिले पनि त्यही पेसामा निरन्तरता दिएका छन् । गाउँबाट बजारसम्म अहिले पनि बिहानै तरकारी बेच्नका लागि जाने गरेको बद्रीगाउँका किसान धनप्रसाद आचार्यले बताए । “गाउँमा तरकारी नलाउने मान्छे नै छैनन्, प्रत्येक दिन बिहानै तरकारी बेच्न गाउँलेहरू बिहानै बजारमा जाने गरेका छन्,” उनले भने ।

आचार्य थरका ५१ घरधुरी रहेको बद्रीगाउँमा तरकारी बेचेर नै सबै घरपरिवारले खाँडाचक्र नगरपालिकाको मान्म बजारमा सबै जनाले घर बनाएको स्थानीय भानुभक्त आचार्यले बताए । “गाउँका ५१ जानको घर मान्ममा बजारमा बनाएका छन्, तरकारी नलगाउने एक जना पनि गाउँमा भेटिदैन । सबैले मान्म बजार देशका अन्य सहरमा घर घडेरी जोडेका छन्,” उनले भने ।
जिल्ला सदरमुकाम मान्मबजारमा बिगतदेखि नै तरकारीको व्यापार गर्ने गरेका गाउँका सबै घरपरिवारका छोराछोरी सहरमा महङ्गा बोर्डिङ स्कुलमा पढाउने गरेको स्थानीय हरिचन्द्र आचार्यले बताए । “हाम्रो गाउँमा कोही पनि कमजोर घरपरिवार छैनन्,” उनले भने, “तरकारी बेचेर नै कोही कार र जीप चढ्छन् । सबैका देशमा बिभिन्न सहरमा घर घडेरी समेत बनाएका छन्,” उनले भने, “यो गाउँका कसैका छोराछोरी निजी स्कुलमा पढ्दैनन् । सबैका छोराछोरी सहरमा महँगा बोर्डिङ स्कुलमा पढ्ने गरेका छन् ।”बजार छ भने गाउँमा नै मेहेनत गरेर सुन फलाउन सकिने रहेछ भन्ने उदारणमा रूपमा बद्रीगाउँलाई लिन सकिने स्थानीय गणेश आचार्यले बताए । विगतमा गाउँमा अन्य बाली लगाएर वर्षभरी खान समेत धौ–धौ हुने गरेको र रोजगारीका लागि अन्य ब्यवसाय अगाल्नु पर्ने अबस्था रहेकोमा बिगत एक दशकदेखि गाउँमा नै सबैले तरकारी खेती गर्न थालेपछि गाउँका सबै मानिसको अहिले कुनै समस्या नरहेको स्थानीय परमानन्द आचार्यले बताए । “विगतका दिनमा गाउँमा मानिसले निकै दुःख पाएँ, एक दशक भयो अहिले गाउँका सबै मानिस समृद्ध बनेका छन्,” उनले भने ।
गाउँमा उत्पादन हुने तरकारी बेच्नका लागि मान्मबजारमा १० जनाभन्दा बढी किसानहरूले तरकारी ब्यवसाय समेत सुरु गरेको स्थानीय भवानी आचार्यले बताए । “गाउँका १० जनाभन्दा बढी किसानहरूले मान्मबजारमा तरकारी पसल सञ्चालन गरेका छन्, गाउँमा तरकारी खेती गर्ने बजारमा आफ्नै पसल ल्याएर बेच्ने पनि धेरै रहेका छन्,” उनले भने ।
कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिकाको मान्म बजारलाई बद्रीगाउँ र बरातु गाउँमा उत्पादन हुने तरकारीले धानिरहेकोे छ ।

 रमेश रावल