कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
362

इलाम-जब चाडपर्व आउँछ तब बजार अनुगमन हुन्छ । इलाम बजारका मासु पसलमा अनुगमन तथा निरीक्षण गरिएको छ । इलाम बजारमा सञ्चालित अधिकांस मासु पसल सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । इलाम नगरपालिकाको नेतृत्वमा इलाम बजारका १९ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ ।
अनुगमनका क्रममा केही मासु पसलमा हतियारमा खिया लागेको पाइएको थियो । कतै पानीको अभावले अचानो राम्ररी नपखालेको पाइएको थियो । इलाम नगरपालिका पशुसेवा शाखाका वरिष्ठ पशु विकास अधिकृत सुरेन्द्र खरेलका अनुसार जिल्लामा सञ्चालित अधिकांश मासु पसल सरकारले तोकेको मापण्ड विपरित सञ्चालन भएको पाइएको छ ।

उनका अनुसार नेपाल सरकारले तोकेअनुसार जुन मापदण्ड हुनुपर्ने थियो, त्यो नपाएको उनले बताए । सकेसम्म सफा गर्न खोजेको भएपनि अधिकांश पसल दामदण्ड विपरित नै रहेको उनले बताए ।
पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मूल्यसूची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको उनले बताए । उनका अनुसार सरकारले तोकेको निश्चित मापदण्ड अनुसार नपाएपछि मासु पसललाई सचेत गराइएको छ ।
खाद्यान, तरकारी, दुधदही र माछामासु सफा र स्वस्थ हुनुपर्ने भएपनि नगरका केही स्थानमा यस्तो नपाइएकाले अब सबै क्षेत्रमा पुगेर अनुगमन गरिने उपप्रमुख नेम्वाङले बताइन् ।