कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
400

विराटनगर-मोरङ प्रहरी आधुनिक प्रविधिसँग जोडिन थालेको छ । बढ्दो सहरीकरणसँगै सुरक्षा चुनौती बढ्दै गएपछि प्रहरीले आधुनिक प्रविधिमार्फत सुरक्षा निगरानीलाई बढाउन सुरु गरेको छ ।
प्रहरीले मोरङका प्रमुख ५८ स्थानमा सीसी क्यामरा जडान गरेको छ । जिल्लाका प्रमुख बजार र केन्द्रका सुरक्षालाई क्यामराले निगरानी गर्ने मोरङ प्रहरीका एसपी विश्व अधिकारीले बताए । सीसी क्यामराको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । जिल्लालाई अपराधमुक्त बनाउन सीसी क्यामराले सहयोग गर्ने एसपी अधिकारीको भनाइ छ । प्रदेश सरकारको सहयोगमा विराटनगरदेखि उर्लाबारीसम्मको प्रमुख सडकको ६० किलोमिटर क्षेत्रमा ५८ वटा सीसी क्यामरा जडान गरिएको उनले बताए । अप्टिकल फाइवरको माध्यमबाट प्रदेश सरकारको १ करोड ५३ लाखको लागतमा सीसी क्यामरा जडान गरिएको एसपी अधिकारीको भनाइ छ । ५८ मध्ये ३२ वटा सीसी क्यामरा विराटनगरमा जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय र उर्लाबारी प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुमबाट एकै समयमा एकै ठाउँबाट सबै क्यामरामार्फत सुरक्षा निगरानी गर्नेछ । हुन त यसअघि मोरङ व्यापार संघ र जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर बजार क्षेत्रमा सीसी क्यामरा जडान गरेका थिए । तर, केही महिना सञ्चालन भएपछि सबै क्यामरा बिग्रिएका थिए ।

भारतसँग सिमाना जोडिएका कारण सुरक्षा चुनौती बढी नै छ । केही समय अगाडि भारतबाट गाडी नै रिजर्भ गरेर आएका व्यक्तिहरूले विराटनगरका चारवटा पसलमा चोरी गरेका थिए । पसलको सीसी क्यामरा फुटेजका आधारमा उनीहरूलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । मोरङ प्रहरीले पसल र बैंकिङ क्षेत्रमा सीसी क्यामरा जडान गर्न आग्रहसमेत गरेका छन् । “अहिले एउटा प्रहरीले ७ सयलाई सुरक्षा दिनु परेको छ,” एसपी अधिकारीले भने, “अब सुरक्षालाई प्रविधिसँग नजोडी धरै छैन । जिल्लाका अन्य स्थानमा पनि विस्तारै सीसी क्यामरा जडान गर्ने योजना छ ।”
उद्घाटन समारोहमा मुख्यमन्त्री राईले प्रदेशलाई अपराधमुक्त प्रदेश बनाउने अभियानमा सरकार लागेको बताए । सुशासन कायम गरी नेपाल प्रहरीलाई नमुना प्रहरी बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ । राईले विकासको पहिलो शर्त शान्ति सुरक्षा भएको भन्दै सीसी क्यामरा जडान भएपछि अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो उपलब्धि हासिल हुने बताए । समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न पनि शान्ति सुव्यवस्था अनिवार्य शर्त भएको उनले उल्लेख गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकारको समृृद्धिको आकांक्षा पूरा गर्ने गरी नेपाल प्रहरी अघि बढिरहेको बताए । विखण्डनकारी र विध्वंसकारी तत्वसँग मुकावला गर्न नेपाल प्रहरी तयार रहेको भन्दै अब अपराधी उम्किन सक्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सीसी क्यामरा जडान भएपछि थप सुरक्षा व्यवस्था सुदृढ हुने विश्वास व्यक्त गरे ।