कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
335

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्यपि उनले अहिले भएका कानुनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताइन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै भएकै संविधान, कानुन र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पारेकी हुन् । उनले भनिन्, “बलात्कार, हत्या, एसिड आक्रमणलगायत हिंसाका घटनामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानुन बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।”

साक्षात्कारमा उनले संविधान, कानुन र ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले महिला हिंसाका घटना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि धारणा राखिन् ।
मन्त्री थापामगरले अहिले पनि महिलामाथि हुने हिंसाहरु यथावत् रहेकोमा भने चिन्ता व्यक्त गरिन् । उनले भनिन्, “सरकार महिला हिंसाविरुद्धका घटना न्यूनीकरण गर्न गम्भिर छ । सरकारबाट इतिहासमै नभएको काम भएको छ । हामीले महिला हिंसाविरुद्धका अभियान सञ्चालन गरेका छौं । जुन यसअघिका कुनै पनि सरकारले गरेका थिएनन् । अहिले ७ वटै प्रदेशमा महिला हिंसाविरुद्धका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।”
मुलुकमा व्यवस्था परिवर्तन भए पनि पुरातन सोच, चिन्तन र व्यवहार परिवर्तन नभएको भन्दै मन्त्री थापामगरले चिन्ता व्यक्त गरिन् । सरकार एक्लैको प्रयासबाट मात्रै महिला हिंसाको घटना न्यूनीकरण नहुने भन्दै उनले नागरिक समाज, सचेत नागरिक सबैले महिला हिंसाविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिइन् ।