कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
444

विराटनगर-दुई वर्षपछि हुने १२ औं राष्ट्रिय जनगणनामा ६० हजार जनशक्ति परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङले बिहीबार विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रियामा गणकका रूपमा ६० हजार जनशक्ति परिचालन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ‘मेरो गणना : मेरो सहभागिता’ नारा तय गरिएको उनले बताए । लामिछानेका अनुसार ७९ वटा जनगणना कार्यालय स्थापना हुनेछन् । निर्देशक लामिछानेका अनुसार त्यसबाहेक ३५० वटा स्थानीयसहित हरेक प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । “संघीयतामा गइसकेपछि पहिलो भएकाले २०७८ सालको जनगणनाले विशेष महत्व राख्छ,” उनले भने, “गणना सुरु हुनुभन्दा अगाडि नमुना जनगणना हुन्छ ।”
कार्यक्रममा प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको आवधिक योजना कार्यान्वयन गर्न र दिशानिर्देश गर्न जनसंख्याको तथ्यांकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले विगतका त्रुटिहरू नदोहोरिने गरी वस्तुपरक तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए । उनले वस्तुपरक तथ्यांक प्राप्त गर्न सकिए २०७८ को जनगणना कोशेढुंगा साबित हुने बताए । “जनगणनालाई आधार मानेर पञ्चवर्षीय योजनाहरू बन्छन्,” उनले भने, “यसर्थ गणना वास्तविक, तथ्य र यथार्थमा आधारित हुनुपर्छ ।”

मन्त्री कार्कीले गणनाबाट आउने तथ्यांकबाट व्यावसायिक कृषि र पशुपालनमा मुलुकले फड्को मार्ने विश्वाससमेत व्यक्त गरे । प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले जनगणनालाई सफल बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । आमजनतालाई जनगणनामा सहभागी हुन उत्साहित गर्न मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।
गोष्ठीमा निर्देशक लामिछाने, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र पत्रकार महाप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय जनगणनाका लागि घर तथा परिवार सूचीकरण २०७८ जेठ १ गतेदेखि २० गतेसम्म र मुख्य प्रश्नावली जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने कार्यक्रममा जनाइएको थियो ।