कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
368

हेटौंडा-भदौ १२ गते ३ वटा विधेयक पारित गर्दै स्थगित भएको प्रदेश–३ को प्रदेशसभाको बैठक २३ गतेको लागि आह्वान गरिएको छ । बैठकले प्रदेशको कर्मचारी व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य र अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको टुङ्गो लगाउनेछ ।
लोकसेवा आयोग विधेयक पारित भएस“गै प्रदेशमा कर्मचारी भर्नाका लागि बाटो खुल्ला हुनेछ । यसअघिको बैठकबाट प्रस्तावित विधेयकलाई छलफलको लागि प्रदेश मामिला समितिमा पठाइएको थियो । समितिले दफावार छलफल गरेसँगै २३ गतेको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ । समावेशीतालाई सम्बोधन गर्दै संघीय आयोगको जस्तै निष्पक्ष ढंगले काम गर्न सक्ने गरी आयोग बन्नुपर्नेमा सांसदहरुले जोड दिँदै आएका छन् ।

अघिल्लो बैठकले समितिमा पठाएको सार्वजनिक, निजी, सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सोही बैठकबाट पारित गर्ने तयारी छ । प्रदेश सरकारले निजी क्षेत्र र सहकारी क्षेत्रसँग समन्वय गर्न कानुन बनाएको हो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले तयार गरेको पर्यटन सम्बन्धी विधेयक पनि दर्ता गर्ने तयारी रहेको छ ।
प्रदेशसभा सचिवालय सचिव रामशरण घिमिरेका अनुसार २३ गतेको बैठकसँगै वर्षे अधिवेशनको अन्त्य हुनेछ । यो अधिवेशनमा पनि प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले भने प्रवेश नपाउने भएको छ । वर्षे अधिवेशनभित्रमा राजधानी र नामाकरणको विषय टुङ्ग्याउने सभामुख र मुख्यमन्त्रीको प्रतिवद्धता पूरा हुने सम्भावना टरेको छ ।
प्रदेशसभाले वर्षे अधिवेशनमा पनि कानुन निर्माणलाई प्राथमिकता दिएको छ । दुई महिना पछि भदौ ८ गतेदेखि लागातार ५ दिन बसेको बैठकले चार वटा विधेयक पारित गरेको थियो । २३ गतेदेखि बस्ने बैठकले थप केही विधेयकहरु टुंगो लगाउने प्रदेशसभा सचिवालय सचिव घिमिरेले बताए ।