कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
432

स्याङ्जा-पाल्पाको रम्भा गाउँपालिकाको हुगीबाट स्याङ्जाको गल्याङतर्फ आउँदै गरेको जीप बुधबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
ग १ ज ३८३१ नम्बरको जीप गल्याङ नगरपालिकास्थित बुटवल पावर कम्पनी नजिकैको उकालोमा दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको भएको हो । दुर्घटनामा रम्घा हुगीकी ५५ वर्षिय खनीमाया नेपाली, सोही स्थानका ३४ वर्षिय मन्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का ९ महिने बालक प्रशन्न परियारको मृत्यु भएको हो । गैह्रे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो भने बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये २२ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ४ जनाको गल्याङस्थित स्थानीय अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष र ३ बालक रहेका छन् ।
दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताइएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । जीप सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । जीपका चालक समेत घाइते भएकाले अस्पताल भर्ना गरिएको छ ।

सडक दुर्घटनामा दम्पतीको मृत्यु
रुपन्देही- सडक दुर्घटना हुँदा रुपन्देहीमा एक दम्पतीको निधन भएको छ । बुधबार दिउँसो करिब सवा २ बजेको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अञ्चलपुरमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको युपि १४ सिबि ००११ नम्बरको भारतीय सफारी जीपले सोहि दिशातर्फ जाँदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको घटनास्थलमै निधन भएको हो ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका वडा नम्बर ३ लालपुरका ५८ वर्षीय प्रेम जित चौधरी र ५६ वर्षिय बासमती थारु चौधरी रहेका छन् । मृतकहरु श्रीमान–श्रीमती रहेको प्रहरीले जनाएको छ । दुर्घटना गराई अघि गएको जीपलाई मंगलापुर प्रहरी चौकीले बाटोमा नियन्त्रणमा लिएको थियो ।