कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
423

बाँके-सहकारीको रकम हिनामिना गरेको भन्दै बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रकम हिनामिना प्रकरणमा सहकारीका वर्तमान र निवर्तमान सञ्चालक समिति, लेखा समिति र कर्मचारीसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लिमिटेडको करोडौ रुपैयाँ अपचलन भएको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गर्ने क्रममा तत्कालिन सञ्चालक समितिमा रहेका वडाध्यक्षद्वय पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) वीरबहादुर ओलीले बताए । “प्रहरीले उहाँहरुको खोजी कार्य गरिरहेको छ,” उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा आवद्ध रहेका थिए । प्रहरीले पक्राउ पुर्जी जारी गरेको थाहा पाएपछि दुबै जना वडाअध्यक्ष फरार भएको बताइएको छ । वडाध्यक्ष पाठक र बर्मा भारततर्फ फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । अभियोग लागेपनि उनीहरुले के कति रकम अपचलन गरेका छन् भन्ने कुराको तथ्य अनुसन्धानपछि मात्रै खुल्ने एसपी ओलीले बताए । सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि बाँके प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष पाठकका दाई मुख्य आरोपी अरुणकुमारलाई पनि नियन्त्रणमा लिएको थियो । सहकारी रकम अपचलनमा मुद्दा दायर गरेपछि सहकारी २० दिनदेखि बन्द भएको छ ।
प्रहरीले पूर्वप्रमुख प्रबन्धक पाठक, प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुवेदीलाई अनुसन्धानका लागि थुनामा राखेको छ । त्यस्तै लेखा समिति सदस्यद्वय ओमप्रकाश वर्मा र इस्तिरमणि बज्राचार्यका साथै सहकारीका उपसहायक बलराम यादवलाई पनि पक्राउ गरेको छ । सहकारीको अध्ययन समितिका अनुसार पाठकमाथि २१ करोड ९४ लाख र सुवेदीमाथि २ करोड ४५ लाख अपचनल गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गरी निक्षेपकर्तासँग जाहेरी मागेको छ । १५ भदौमा सूचना प्रकाशित गरी जिप्रकाले ‘सम्पूर्ण निक्षेपकर्तालाई आफ्नो एकिन निक्षेप रकम दाबी गर्नका लागि उक्त संस्थाले उपलब्ध गराएको पासबुक लगायतका आवश्यक प्रमाण कागजातसहित जाहेरी दरखास्त पेश गर्न’ अनुरोध गरेको हो । प्रहरीले तयार गरेको अभियोगपत्रमा ३८ करोड १७ लाख ५० हजार पाँच सय ४४ रुपैयाँ अपचलन भएको उल्लेख गरिएको छ । ५२ करोड रुपैयाँ अधिकतम पूँजी रहेको सहकारीको कूल पूँजीको ७० प्रतिशतभन्दा बढी रकम अपचलन भएको छ ।