कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
389

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा प्रशासनिक कामकाजका लागि स्थापना गरिएको सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा  सेवाग्राहीले सास्ति खेप्नुपरेको छ ।
अधिकृत तहको एक र कार्यालय सहयोगी गरी दुईजना कर्मचारी कार्यरत कार्यालयमा लामो समयदेखि कार्यलय प्रमुख विदामा बसेपछि नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको छ । सोही कामका लागि खुम्बुका सर्वसाधारण तीन दिनको बाटो हिँडेर सल्लेरी धाउनुपर्ने बाध्यता छ । कार्यालय प्रमुख नवदिप राईले परीक्षा दिन भन्दै साउनको मध्यतिर खुम्बु छाडेको र कार्यालय सहयोगी समेत एक हप्तादेखि काठमाडौँ रहेकाले सेवाग्राहीले सास्ति खेप्नु परेको हो ।

अहिले नागरिकता बनाउनका लागि सल्लेरी झर्नुपर्ने बाध्यता रहेको छ भने प्रतिलिपि बनाउनका लागि पुरानो रेकर्ड हेर्ने कर्मचारी समेत नहुँदा  सल्लेरीको बसाइ लम्बिएको एक सेवाग्राहीले गुनासो गरे । स्थानीयहरुले तीन महिनादेखि सिमा प्रशासन कार्यालयका प्रमुख नरहेको गुनासो गरेका छन् । कार्यालय सहयोगी पेम्बाछिरी शेर्पाले एक महिनादेखि कार्यालय प्रमुख विदामा रहेको बताए । उनले भदौको पहिलो हप्ता आउँछु भने पनि अहिलेसम्म नआएको जानकारी दिए ।
कार्यालय प्रमुख परीक्षाका लागि बिदामा बसेको भनिए पनि कुनै पनि निकायमा आधिकारिक विदा स्वीकृत गराएको जानकारी छैन । जिल्ला प्रशासन कार्यलयमा समेत विदाबारे लिखित जानकारी नभएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । गृह मन्त्रालयमा बुझ्दा नवदिप राईले अन्यत्र जानका लागि सहमति लिइसकेको जानकारी पाएको प्रजिअ खनालले बताए ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि कुनै जानकारी नपाएको बताएको छ । प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले कार्यालय बन्द हुँदा सर्वसाधारणले दुःख पाएको विषयमा जानकार भए पनि सिमा प्रशासनले स्थानीय सरकारसँग कुनै पनि समन्वय नगरेको बताए ।
भौगौलिक कठिनाइका कारण त्यस भेगका नागरिकलाई प्रशासनिक सेवा दिन स्थापना गरिएको सिमा प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्दा त्यस भेगका नागरिक पटक पटक सल्लेरी झर्नुपर्ने बाध्यता सृजना हुँदै आएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा कामको चाप हेरेर सीमा प्रशासन कार्यालयका प्रमुखलाई झिकाइ जिम्मेवारी दिँदै आइएको छ ।