कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
318

म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका तीनजनालाई उपचारको लागि काठमाडौँ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाइते भएका चारजनामध्ये चालकसहित तीन जनालाई एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
घाइते चालक म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका ओमबहादुर पुन, सर्वेयर बुद्धिसागर न्यौपाने र सिभिल इञ्जिनियर शैलेस शाक्यलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँस्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । दुर्घटनामा शख्त घाइते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । आयोजनाले भाडामा लिएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।