कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४
1630

नेपाली सेनाले सैनिक साधन-स्रोत र क्षमता बिस्तारलाई बढाउँदै लगेको छ । १० वर्षे सशस्त्र द्वन्द्व अवधिभर माओवादीसँग आम्नेसाम्नेमै विताएको सेना २०६२-६३ को आन्दोलनपछि हातहतियार, हवाई क्षमता विस्तार देखि विकास निर्माण र कल्याणकारी योजनाका नाममा नाफा मूलक क्षेत्रमा सक्रिय बन्दै गएको हो ।
त्यतिमात्रै होइन, सैनिक कूटनीति विस्तार देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो उपस्थिति र प्रभावलाई समेत सेनाले बढाउँदै लगेको छ । सेना दिवस २०७४ को अवसरमा पहिलो पटक सेनाले भारतीय स्थल सेनाध्यक्ष विपिन रावतलाई टुंडीखेलमा आयोजित सैन्य परेडमा विशेष अतिथिका रुपमा उपस्थित गरायो । सम्भवतः छिमेकी मुलुकका सेनापति सेना दिवसको परेडमा उपस्थित भएको यो पहिलो पटक हो ।

भारतीय स्थल सेनाध्यक्ष रावत पनि टुंडीखेलमा नेपाली सेनाको सैन्य हर्षबढाई तथा कलाकौशल समारोहमा निकै खुसी देखिए । सोमबारको रात्रीभोजमा जंगी अड्डामा अनौपचारिक कुराकानीमा पनि रावतले नेपाल र भारतबीचको सैन्य, सरकार र नागरिक तहको सम्वन्ध विश्वमै अनुपम र अतुलनीय रहेको बताए । भारतीय सेनाध्यक्ष नेपाली सेनाको समेत मानार्थ महारथी हुन् ।
भारतीय सैन्य क्षमताको तुलनामा नेपाल निकै पछाडी छ । ‘ग्लोवल फायरपावरडटकम’ले सन् २०१७ मा गरेको सर्वेक्षण अनुसार विश्वका १ सय ३३ मुलुकका सेना मध्ये करिव ९७ हजार जनशक्ति कार्यरत नेपाली सेनाको स्थान साधनस्रोत र क्षमताका हिसावले ९७ औं स्थानमा छ । यो सर्वेक्षणमा भारतीय सेनाको स्थान चौथो स्थानमा छ । तर आफ्नो क्षमता र जनशक्तिको सैन्य कलाकौशल भने यो पटक नेपाली सेनाले छिमेकी मुलुकका सेनापतिलाई राम्रैसँग देखाउने मौका पनि पायो । सेनाले आफूसँग भएका कतिपय सैन्य हातहतियार-बख्तरवन्द तथा अन्य साधनस्रोत पनि टुँडीखेलमा सार्बजनिक गर्यो ।
सेना दिवसको पूर्व सन्ध्यामै वेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टर नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए । बेलायती राज्यमन्त्री पनि सेना दिवसकै पूर्व सन्ध्यामा नेपालमा आए । अमेरिकी सेनाका ४ तारे जर्नेल तथा प्यासिफिक कमान्डका सेना प्रमुख जनरल रोवर्ट ब्रक्स ब्राउनको पनि सेना दिवसकै पूर्व सन्ध्यामा नेपाल भ्रमण भयो ।
“मुलुक सानो-ठूलो हुदैमा उसको मित्रता र सैनिक सम्वन्ध पनि त्यही अनुसार हुन्छ भन्ने छैन,” सेनाका एक अधिकारी भन्छन्, “त्यही सोच राख्ने हो भने विश्वका शक्ति राष्ट्रका उच्च सैनिक अधिकारीहरू हाम्रो निमन्त्रणालाई सहजै स्वीकार गरेर भ्रमणमा आउने अवस्था रहँदैन ।”
त्यतिमात्रै होइन, भारतले राष्ट्रसंघको दक्षिण एसीयाकै महत्वपूर्ण मानिएको काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र आफ्नो मुलुकमा सार्ने योजना पनि सेनाकै कूटनीतिक लविका कारण सफल हुन नसकेको तथा ती सैनिक उच्च अधिकारीको भनाई छ ।
पछिल्लो १० वर्षयता सेनाले हवाई क्षमता विस्तार पनि बढाउँदै लगेको छ । नागरिक स्तरबाट आलोचना भएपनि सरकारले पछिल्लो २ वर्षको अवधिमा १० अर्ब भन्दा बढी रकम सेनाको हवाई क्षमता विस्तारमा खर्च गरीसकेको छ । त्यतिमात्रै होइन, सेनाकै कल्याणकारी कोषबाट लगानी गरिएका कतिपय उद्योगमा ठूलो धनरासी सेनाले सरकारबाट पाइसकेको छ । ग्लोवल टेन्डरबाट काम गर्न नसकेप सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराईमधेस द्रूतमार्ग पनि सेनालाई नै जिम्मा लगाइसकेको छ । सेनादिवसको अवसरमा सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट जारी गरिएको शुभकामना सन्देशमा यो परियोजना सेना आफैले मागेको नभई सरकार र नेपाली जनताले भरोसा गरेर दिएको उल्लेख गरेका छन् । त्यसबाहेक अन्य विकास निर्माण, विपत व्यवस्थापन, राष्ट्रसंघीय शान्ति मिसन लगयतमा नेपाली सेनाको भूमिका बढ्दो क्रममा छ । मिसनमा जनशक्ति खटाएर योगदान पुर्याउनेमा सेना विश्वकै छैटौं स्थानमा छ ।