कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
399

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा पत्रकार रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
यसअघि चितवन प्रहरीले हिरासतमा रहेका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीमाथि १० दिन अनुसन्धान गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । ५–५ दिन गरी १० दिनको म्याद अदालतबाट दुई पटक पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सबै विवरण सरकारी वकिल कार्यालयलाई बुझाएको हो ।

मुलुकी संहिताअनुसार आत्महत्याका लागि दुरुत्साहनको अभियोग पुष्टि भए ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ ।
पुडासैनी गत साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको बताइएको छ । आत्महत्यापछि सार्वजनिक भएको भिडियोमा उनले रविसहित तीनजनाका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यही भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । रवि पक्राउपछि उनका समर्थकले रिहाइको माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।