कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
287

 जिल्लामा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ गंगोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ । सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए ।
जिल्लामा केही दिनयता डेंगुको संक्रमण बढ्दो छ । उनका अनुसार साउनयता भदौ ६ गतेसम्म जिल्लामा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेंगुको संक्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले जानकारी दिए । डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरी जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ ।

काठमाडौंमा १९ जनामा संक्रमण

 काठमाडौं उपत्यकामा १९ जनामा डेंगुको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत साउनबाट काठमाडौंका केही स्थानमा देखिएको डेंगु गराउने लामखुट्टे अझै नियन्त्रणमा आउन सकेको छैन ।
भक्तपुरमा एक जनामा डेंगुको संक्रमण देखिएको छ भने ललितपुरमा तीन जनामा यसको संक्रमण देखिएको महाशाखाले जनाएको छ । सरसफाइमा ध्यान नदिँदा पछिल्लो समय देशभर फैलिएको डेंगु नियन्त्रणमा आउन नसकेको महाशाखाको भनाइ छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखलाई लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग छलफल गरिएको महाशाखाले जनाएको छ । उक्त लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान सञ्चालनका लागिसमेत बजेटको व्यस्थापन गरेको छ । केही दिनमा नै जिल्ला प्रमुखको अगुवाईमा स्थानीय जनप्रतिनिधीहरुले यो अभियान सुरू गर्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, चालू आर्थिक वर्ष २०७६–०७७ मा प्रदेश १ मा चार सय ६४ जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेश २ मा ११ जना डेंगुबाट पीडित भएका छन् । प्रदेश ३ मा चार सय ६४ जनामा देखिएको छ । गण्डकी प्रदेशमा दुई सय १० जनामा संक्रमण भएको छ । प्रदेश ५ मा ३१ जनामा संक्रमण भएको छ । यो वर्ष कर्णाली प्रदेशकमा डेंगुको महामारी देखिएको छैनन् । तर सुदूरपश्चिम प्रदेशमा ६ जनामा डेंगुको संक्रमण देखिएको छ ।