कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
227

धनकुटाको मुगा स्थायी घर धनकुटा नगरपालिका–७ डाँडागाउँ बस्दै आएका साहित्यकार कवि मुकुन्दप्रयास सुवेदीलाई दलितकी छोरीसँग विवाह गरेको बाहनामा बावुको काजक्रिया गर्नका लागि दाजुहरूले सँगै बस्न दिएका छैनन् । साउन २२ गते मृत्यु भएका बाबु यज्ञप्रसाद सुवेदीको पार्थीव शरीरमा आगो लगाउन तथा दागबत्ती समेत दिन रोक लगाएपछि सुवेदीका बाबु यज्ञप्रसाद सुवेदीको काजक्रिया दुई स्थानमा भइरहेको छ ।
आमा र ३ दाजुहरूले मुगामा १३ दिने संस्कार गरिरहेका छन् भने मुकुन्द पनि कपाल खौरिएर सामान्य कपडा लगाएर बाबुको शोक बारिरहेका छन् । अन्य अवस्थामा छुवाछूत नगरिए पनि काजक्रिया बस्ने विषयमा आफूलाई दलितकी छोरीसँग विवाह गरेको बाहनामा बावुको काजक्रिया गर्नका लागि दाजुहरूले सँगै बस्न नदिएको मुकुन्दले गुनासो गरे ।

मृत्युअघिको बैतरणी लगायतका संस्कारमा गरिने र अन्त्येष्टी कर्ममा समेत आफ्नो जिम्मेवारी पूरा गरेपनि १३ दिने संस्कारमा आफूलाई विभेद गरिएको सुवेदीको भनाइ छ ।
यसैबीच, पुराना संस्कृतिको संरक्षण गर्दै संस्कृतिको नाममा रहेका कुसंस्कार हटाउनुपर्ने धारण संस्कृतविद्, प्राध्यापक र सरोकारवालाहरूले राखेका छन् । धनकुटामा मिसन पोयट्री र गार्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालायले आयोजना गरेको ‘संस्कारमा सामाजिक परिमार्जन गरौँ, संस्कारलाई समायोजन गरौँ, मृत्यु संस्कार सन्दर्भ, सम्वाद र समीक्षा’ विषयक कार्यक्रमा वतmाहरूले पुराना संस्कृतिको संरक्षण गर्दै संस्कृतिको नाममा रहेका कुसंस्कार हटाउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रमा प्राध्यापक डा. बद्री बिशाल भट्टराईले समय अनुसार संस्कृति परिवर्तन हुँदै जाने र समय अनुसार भएका परिवर्तनलाई स्विकार्दै अगाडि बढ्नुपर्ने बताउँदै संस्कारका रुपमा हुने छुवाछूतलाई दण्डनीय बनाउन आवश्यक रहेको बताए । त्यस्तै, जनसांस्कृतिक महासंघका महासचिव प्रेम अधिकारीले संस्कारलाई आफूले सक्ने स्तरबाट मनाउन आवश्यक रहेको बताए ।
उनले भने, “कुनै पनि धर्म संस्कृतिमा सबै कुरा गर्नुपर्ने र सक्नै पर्ने कुरा छैन ।” कानुन व्यवसायी ललित विश्कर्माले कानुनमा भएका कुरालाई व्यावहारमा उतार्न नसक्दा अहिले पनि छुवाछूतजस्तो घृणित कार्य समाजमा यथावत् रहेको बताउँदै यस्तो घृणित कार्य अहिले पनि संस्कारका रुपमा रहनु ज्यादै लज्जाको विषय रहेको बताए ।
संस्कृतविद् उमानाथ घिमिरेले मृत्यु संस्कार सुल्टो बाटो हुँदै गएमा स्वभाविक हुने र त्यसलाई घटाउन अर्थात् चाँडो सक्न सकिने भएपनि त्यसका लागि कसैलाई बाध्य गर्न नसकिने धारणा राखेका थिए । राजनीतिकर्मी गोपाल गुरागाईले मृत्यु संस्कार लगायतका सनातन धर्मलाई परिवर्तन गर्नुपर्ने र त्यसरी परिवर्तन भएका संस्कार आजको पुस्ताले मान्य हुने हुनुपर्ने बताए ।

विकास घिमिरे