कारोबार संवाददाता
आइतवार, भदौ १, २०७६
178

जनकपुर- पछिल्लो समय अवैध रुपमा चाँदी तस्करी धनुषामा मौलाएको छ । सशस्त्र प्रहरी बल धनुषाले ८ महिनाभित्रमा करिब ३३ किलो अवैध चाँदी बरामद गरेको छ । विभिन्न समयमा अवैधरुपमा लैजाँदै गरेको चाँदी सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आए पनि चाँदी तस्करीमा भने कमी आएको छैन ।
भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षिय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको छ । उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।

अवैध रुपमा ल्याइएको १५ केजी चाँदी १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख राजेश उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहबाट ज ८ प ९२३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसअघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२.७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्ब २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजादै गर्दा नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका सिंह, अवैध चाँदी सहित ७५ हजार रुपैयाको मोटरसाइकल जनकपुर भन्सार कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।