कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
289

पोखरामा बुद्धको मूर्तिलाई सुनको भनी झुक्याई १३ लाखमा बिक्री गर्ने तीनजना पक्राउ परेका छन् । उक्त मूर्ति सुनबाट निर्मित नभई अन्य धातुबाट बनेको जानकारी प्राप्त भएसँगै कास्की प्रहरीले साउन २७ गते पोखरा महानगरपालिका बडा नम्बर ६ डिहीको पाटनबाट नवराज पाण्डे भन्ने रामराज शिवाकोटीसहित तीन जनालाई पक्राउ गरेको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ बस्दै आएका पाराश्वर विश्वकर्मालाई १३ लाखमा मूर्ति बेचेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मूर्ति नक्कली भएको चाल पाएपछि विश्वकर्माले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका दिए । दोलखा भिमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौंको सिनामंगल बस्दै आएका ५२ वर्षिय रामराज शिवाकोटी, गोरखा भिमसेन नगरपालिका–१ घर भई हाल पोखरा न्युरोडमा बस्दै आएका रमेश श्रेष्ठ भनिने ३३ वर्षिय देव कुमार श्रेष्ठ र रामेछाप भगेरी गाउँपालिका–५ घर भई हाल काठमाडौं बौद्ध बस्ने देवराज प्रधान भनिने ३६ वर्षिय वसन्त बाबु श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले सुनजस्तै देखिने पहेलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मूर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा छिपाइराखेको सुन जस्तो देखिने पहेलो धुलो, २ भारतिय क्यासिनो कार्ड, विभिन्न बैंकका चेकहरु पनि बरामद गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।