मीनकुमार नवोदित
मंगलबार, श्रावण २८, २०७६
522

विराटनगर-संरक्षणको अभावमा विराटराजाकालीन पुरातात्विक सामग्री व्यक्तिको घरमा राखिएको छ । सम्बन्धित निकायको बेवास्ताका कारण नेपाल–भारतको सीमा बुधनगरमा कमलकिशोर यादवको घरमा ऐतिहासिक सामग्री राखिएको छ । यादव ती सामग्री जो कोहीलाई देखाउँछन् ।
बुधनगरको भेडियारीमा विराटराजाको दरबारको भग्नावशेष, पाण्डवहरूले प्रयोग गरेको पोखरीलगायत अनेकौं पुरातात्विक वस्तु र स्थानहरू रहेका छन् । घरमा माटाका भाँडा, मोटाकै चप्पल, प्राचीन शीलालेख, व्यायाम गर्ने सामान, शालिग्राम, रामसीता, लक्ष्मण, भरत, शत्रुधन र हनुमान भएको धातुको सिक्का, राधाकृष्णको मूर्ति, पन्जाछाप, इँटा, चकमक पत्थर, सिलौटो, माटाको प्राचीन मुद्रा, डिविया, तेल दल्ने भाँडो, बुद्धको मूर्तिको प्रतिमा, भद्रिका देवीको मूर्ति, माटोको मटेंग्रा, जीमाला, मोतीमाला, सीमाला, रातो प्वालो, चुरा, हात्तीको दाँतको पासा, मुगालगायतका ऐतिहासिक सामग्रीसमेत राखिएको छ ।

सो क्षेत्रमा घुम्न आउने व्यक्तिले ती सामान अत्यन्तै महत्वका साथ दृश्यावलोकन गरी फोटो खिचेर लाने गरेका छन् । दशगजा क्षेत्रबाट दुई सय मिटर पूर्व मेघा इनारसमेत छ । “यहाँबाट कयांै पुरातात्विक सामग्री भारततिर गइसके । विराट राजादरबार क्षेत्रको संरक्षण र सम्वद्र्धनमा सरकारले खासै ध्यान दिएको छैन,” पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ भन्छन्, “विराटनगर नामाकरण हुनुको अर्थ बोक्ने यो स्थानको संरक्षणमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्छ ।”
पूर्वी तराईको पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको विराटराजा दरबार क्षेत्र संरक्षणको प्रतीक्षामा छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावना बोकेको विराटराजाको दरबार क्षेत्र ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । साविकको बुधनगर–५ र हालको विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीस्थित दरबार क्षेत्रको संरक्षणमा सरकार चुकेको स्थानीयको भनाइ छ । “म त यी सबै सामान सरकारलाई जिम्मा लगाउन तयार छु तर, सरकारले संरक्षण गर्नुप¥यो,” कमलकिशोर भन्छन्, “कम्तिमा यसको संरक्षण र सम्बद्र्धन भएको खण्डमा आन्तरिक र भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्ने थियो ।”
विराटनगरबाट करिब ८ किलोमिटर दक्षिणमा रहेको दरबार क्षेत्र ऐतिहासिक र पुरातात्विक विषयमा अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकका लागि समेत ज्यादै महत्वपूर्ण छ । दरबारको साढे ५ हजार वर्षे इतिहास छ । “महाभारतकालीन कथामा आधारिक भएकाले यसलाई सरकारले महत्व दियो भने लुम्बिनीजस्तै विकास गर्न सकिन्छ,” विराट क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका पूर्वअध्यक्षसमेत रहेका पर्यटन व्यवसायी श्रेष्ठले भने, “महाभारतदेखि तलका शिद्धकाली, बराहाक्षेत्र, कृष्णथुम्का, रामधुनीजस्ता धार्मिक क्षेत्रको किंवदन्तिसमेत यही विराटराजाको दरबारसँग जोडिएको छ ।”
भारतीय सीमावर्ती बजार जोगबनीबाट करिब दुई किलोमिटरको दूरीमा अवस्थित विराटराजाको दरबार क्षेत्रलाई उचित संरक्षण गरी व्यवस्थित गरे आन्तरिक मात्रै नभएर बाह्य पर्यटकसमेत आउने स्थानीय रमेश यादवको भनाइ छ । “जोगबनीसम्म रेलसेवा भएकाले बंगलादेश, पाकिस्तान, भुटानलगायत दक्षिण एसियाली मुलुकका पर्यटकले थोरै खर्च गरेर पनि सो क्षेत्रको अवलोकन गर्न सक्नेछन्,” उनी भन्छन्, “तर सरकारको लापरबाही र बेवास्ताले यसको महत्व घटिरहेको छ ।”
दरबार क्षेत्रमा एक बिघा क्षेत्रफलमा फैलिएको धरवापोखरी, चार बिघा क्षेत्रफलमा रहेको किचकबध पोखरी, १६ कठ्ठामा रहेको बहेर्वा पोखरी, १० कठ्ठा क्षेत्रफल ओगटेको भनसिया पोखरी, चार कठ्ठामा रहेको गुह्या पोखरी, एक बिघा पाँच कठ्ठामा फैलिएको दिगी पोखरी, दुई कठ्ठा तीन धुरमा फैलिएको डोयिबा पोखरी र एक कठ्ठा आठ धुर क्षेत्रफल ओगटेको मोरङ्गिया पोखरीसमेत छन् । “यस ठाउँलाई हामीले सौन्दर्यका दृष्टिले भन्दा पनि पुरातात्विक र ऐतिहासिकताको दृष्टिकोणले हेरिनुपर्छ,” अर्का पर्यटन व्यवसायी पुण्य भट्टराई भन्छन्, “यस ठाउँको संरक्षण र सम्बद्र्धनका लागि सम्बन्धित निकायले चासो दिनुपर्छ ।” यहाँ संग्राहालय पनि बनाउन सकिन्छ ।”
महानगरपालिकाका मेयर भीम पराजुलीले विराटराजाको दरबार क्षेत्रको विकासका लागि महानगरले उच्च प्राथमिकतामा राखेको बताए । उनले बजेट नै छुट्याएर दरबार क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।