विप्लव काफ्ले
सोमवार, श्रावण २७, २०७६
344

भरतपुर अस्पताल अगाडिको बाटो छेउमा फोहोर जलाइँदै थियो । फोहोर जलाउने काम गरेको त्यो पसललाई महानगरले ५ हजार रुपैयाँ जरिवाना लियो । मालपोत कार्यालय परिसरभित्रको क्यान्टिनले साँझ फोहोर जलाउँदै गरेको पाएपछि महानगरको टोली पुग्यो । अबदेखि जथाभावी फोहोर नजलाउने सहमति गरेर छाडियो ।
वीरेन्द्र क्याम्पस पछाडिको एक पसलले फोहोर जलाएकै बेला फेला पारेपछि ५ हजार जरिवाना गरियो । आन्तरिक राजस्व कार्यालय अगाडिको चोकमा रहेको फलफूल तथा तरकारी पसलले उखुका बोक्रा, प्लास्टिक जलाएको भटेपछि ५ हजार रुपैयाँ तिर्नुप¥यो । “साँझपख जथभावी फोहोर जलाउने गरेको भेटेका छौं,” भरतपुर महानगरका सामाजिक विकास महाशाखा तथा आर्थिक विकास महाशाखाका उपसचिव प्रधुम्नप्रसाद उपाध्यायले भने, “सौन्दर्यताका लागि बिगार्ने काम गर्नेलाई आर्थिक ऐन २०७६ अनुसार कारबाही गरिनेछ ।” बुधबारदेखि आकस्मिक अनुगमन सुरु भएको छ । उनका अनुसार फोहोरमैला व्यवस्थापनमा असर पार्ने काम गरेमा १ हजारदेखि ५० हजार रुपैयाँसम्म, अनुमति नलिई विज्ञापन सामग्री राखेमा, फुटपाथमा पसल र व्यापारिक सामग्री राखेमा सामान जफतसहित, निषेधित क्षेत्रमा पार्किङ गरेमा ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना लगाइनेछ ।
अनावश्यक ठाउँमा हर्न बजाएमा १० हजार रुपैयाँ, निषेधित ठाउँमा ठेला राखेमा ५ देखि २० हजारसम्म जरिवाना लगाइनेछ । “पहिलो चरणमा आकस्मिक अनुगमन टोली परिचालन गरेका छौं,” उपाध्यायले भने, “सुन्दर, स्वच्छ सहर बनाउने अभियान चलाएका हौं ।” महानगरले सूचनाका लागि टोलफ्रि नम्बर १६६०५६५२२२२ समेत सञ्चालनमा ल्याएको छ । महानगरको फेसबुक, ट्वीटर वा कार्यालयको नम्बरमा समेत जानकारी दिएमा टोली कारबाहीका लागि फिल्डमा तत्कालै जानेछ ।
“वडाका टोल सुधार समितिले नै कारबाही गर्न सक्नेछन्,” उनले भने, “वडा कार्यालयमार्फत जरिवाना रसिद टोल सुधार समितिलाई वितरण गरिनेछ, प्रमाण भेटेमा कारबाही गर्न अनुमति दिने तयारी छ ।” उनले यो अभियानमा नगरवासी, सरसफाइ अभियान्तालाई समेत सहभागी गराइने बताए । जरिवाना गर्ने कर्मचारीलाई महानगरले १० प्रतिशत प्रोत्साहन रकमसमेत दिने जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आर्थिक ऐन कार्यान्वयन गराउन टोली नियमित परिचालन गरिने बताए । “जरिवानाबारे हरेक दिन माइकिङ गरेका छौं,” उनले भने, “२ साता नगर प्रहरीको गाडीमार्फत माइकिङ गरिसकेका छौं, सार्वजनिक सूचना जारी गरेका छौं, अब जथाभावी फोहोर फाल्ने, बाल्ने, सतही ढलमा शौचालय मिसाएमा, गाईवस्तु छाडा छाडेमा कारबाही गर्नेछौं ।”
महानगरमा १३ जना नगरप्रहरी–सुरक्षा गार्ड छन् । सरसफाइका १२ जना कर्मचारी छन् । जसमध्ये ३ जना सुरक्षा गार्डका रूपमा महानगरको गेटमा खटिन्छन् । प्रमुख प्रशासकीय अधिकृत, उपमेयरको कार्यकक्षमा १–१ जना खटिन्छन् । २ जना चालक छन् । “विगतमा फोहर जथभावी फाल्ने र फुटपाथमा पसल गर्नेलाई मात्रै कारबाही गर्दै आएका थियौं,” नगरप्रहरी इन्चार्ज मित्रबहादुर तामाङले भने, “अब ५० हजारसम्मको कारबाही ‘अन द स्पट’ गर्ने प्रावधान छ ।” उनले दैनिक ३ सिफ्टमा नगरप्रहरी परिचालन हुँदै आएको बताए । महानगरको नगरप्रहरी फुटपाथ व्यवस्थापनमा खटिँदै आइरहेको छ । “एउटामात्रै पुरानो पिकअप भ्यान छ,” उनले भने, “२९ वटै वडामा पुग्न कठिन छ, नगरवासी नै जागरुक बने सफाइको अभियान सफल बन्छ ।”

नगरप्रहरी थपिँदै
भरतपुर महानगरले नगरप्रहरी थप्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले ११ जना नगरप्रहरी थप्न लागेको जानकारी दिए । १–१ जना नगरप्रहरी निरीक्षक र सहायक नगरप्रहरी निरीक्षक र ९ जना नगरप्रहरी जवान राख्न लागेको छ । जसमध्ये नगरप्रहरी निरीक्षकमा १ जनाको नाम नै संक्षिप्त सूचीमा परेको छ । सहायक नगरप्रहरी निरीक्षकमा ८ जनाको नाम शारीरिक परीक्षणमा सहभागी हुन पाउनेछन् । यस्तै नगरप्रहरी जवानमा ८६ जनाले दोस्रो चरणको परीक्षा दिन पाउनेछन् । भदौ ४ गते जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर–१० मा शारीरिक परीक्षण हुनेछ । महानगरले असार १८ गते नगर प्रहरीका लागि सूचना निकालेको थियो ।