कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
386

नेपाली कांग्रेसका सांसदहरुले जडिबुटी निकासीलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउँदै बुधबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद रंगमती शाही प्रस्तावक रहेको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सांसदहरु डिला संग्रौला र प्रकाश स्नेही रसाइली समर्थक छन् ।
क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिबुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको प्रस्तावक शाहीले बताइन् ।
“नेपालको हिमाली तथा पहाडी भू–भाग जडिबुटी भण्डारको रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडिबुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडिबुटी पर्दछ,” सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ, “नेपालमा उत्पादित र संकलित सबै जडिबुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडिबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिबुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडिबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ ।”