कारोबार संवाददाता
बुधवार, श्रावण २२, २०७६
389

आर्थिक लेखक तथा बिजनेस पाटी डट कमका सम्पादक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ । बिजनेस पाटी मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकमा मूलतः ‘क’ वर्गका २८ वाणिज्य बैंकको प्रोफाइल समेटिएको छ ।
पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारीबारे पनि प्रकाश पारिएको छ । पुस्तकको अर्को खण्डमा गौतमले नेपालको वित्तीय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरू समेटेका छन् ।

लेखक गौतमले आममानिसमा वित्तीय पहुँच र चेतना अभिवृद्धि गर्दै बैंक तथा वित्तीय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधा र उनीहरूका पृष्ठभूमीसमेत जान्न सकियोस् भन्नका लागि पुस्तक लेखिएको बताए । बैंकहरूको प्रोफाइल समेटिएको यो पुस्तक नेपालको सन्दर्भमा पहिलो भएको समेत गौतमले बताए ।
“पुस्तकबाट नेपालको बैंक वित्तीय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ,” उनले भने ।
सामाजिक, सांस्कृतिक र साहित्यका विधामा बर्सेनि सयौंको संख्यामा पुस्तकहरू प्रकाशित हुने गरे पनि आर्थिक क्षेत्रलाई विषयवस्तु बनाएर अत्यन्तै नगन्य पुस्तक बजारमा आउने गरेका छन् । आर्थिक क्षेत्रमा थोरै भए पनि योगदान दिने हिसावले आफूले पुस्तक बजारमा ल्याएको गौतमले बताए । करिव ४ सय पेज रहेको पुस्तकको बजारीकरण तथा बिक्री प्रवद्र्धन बिजनेस पाटी मिडिया प्रालिले गर्ने उनले बताए ।