दाङ-चालू आर्थिक वर्षको जेठ मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगन्जमा दाङका १ सय ११ उजुरी परेका छन् । जसमा संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी ३५, शिक्षासम्बन्धी २३ र वनसम्बन्धी १४ वटा उजुरी अख्तियारमा परेका हुन ।
दाङका १० वटा स्थानीय तहका ३५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी शान्ति नगरगाउँपालिकाको ७, तुलसीपुर उपमहा नगरपालिकाको ६ वटा, लमही नगरपालिका र बबई गाउँपालिकाको ५ वटा, राजपुर गाउँपालिका, घोराही उपमहानगरपालिकाका ४–४ वटा र बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, दगीशरण गाउँपालिका र गढवा गाउपालिकाका एकएक वटा उजुरी अख्तियारमा परेको गैरेले बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्रा थापा गुरुङले भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासनयुक्त समाज निर्माण गर्न सकिने बताइन् । त्यसका लागि राज्यका राष्ट्र सेवक कर्मचारी र जन प्रतिनिधिले कानुन र नियमको अक्षरशः पालना गर्नुपर्ने बताइन् । “सबैले नियम र कानुनको पालन गर्ने हो भने भ्रष्टाचारमा कमी आउँछ,” आयुक्त गुरुङले भनिन् । भ्रष्टाचारजन्य क्रियाकलापलाई निरुत्साहित गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । भ्रष्टाचारलाई कमी गर्दै सदाचारको प्रवद्र्धन गर्नसके सुशासनयुक्त सभ्य समाज निर्माण गर्न सकिने उनले बताइन् । पछिल्लो समय संघीय मामिलाका क्षेत्रमा भ्रष्टाचारसँगै सुशासनविपरीतका क्रियाकलाप हुने गरेको उजुरी आयोगमा आउने गरेको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्न कर्मचारीसँगै जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले सुशासनयुक्त सभ्य समाज निर्माणका लागि भ्रष्टाचार न्यूनीकरण गर्न जरुरी रहेको बताए । त्यसका लागि जनप्रतिनिधि, कर्मचारीसँगै प्रत्येक नागरिकले सचेतनापूर्वक काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले भ्रष्टाचार गलत संस्कार रहेको भन्दै यसलाई व्यक्ति र समाजलाई गलत बाटोमा लैजाने बताए । उनले सदाचारयुक्त समाज निर्माणका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले कानुनलाई पालना गर्दै हरेक कर्मचारी, जनप्रतिनिधिले काम गनुपर्ने भन्दै प्रलोभनमा नपर्नसमेत आग्रह गरे ।