कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
430

प्यूठान-पछिल्लो आर्थिक वर्षको तथ्यांकअनुसार जिल्ला अदालत प्यूठानमा मुद्दाको चाप बढ्दै गएको छ । आर्थिक वर्ष ०७३-०७४ मा २९९, ०७४-०७५ मा ४२६ र ०७५-०७६ मा ४८६ मुद्दा अदालतमा परेका छन् ।
अघिल्लो आर्थिक वर्षमा ४२६ मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ४८६ मुद्दा अदालतमा परेको जिल्ला न्यायाधीश विष्णु प्रसाद गौतमले बताए । त्यसमध्ये ३८० मुद्दा फस्र्यौट भएको छ । “वर्षेनी मुद्दाको चाप बढ्दै आएको छ । यस वर्ष सरकारवादी फौजदारी मुद्दा पनि बढे,” उनले भने । उनका अनुसार यस आर्थिक वर्षमा बाल विवाह, बहुविवाह, सवारी ज्यान, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग लगायतका सरकारवादी फौजदारी मुद्दा १०८ वटा रहेका छन् । जसमध्ये ९७ वटा फैसला भएको छ ।
जम्मा मुद्दामा अदालतले लिएको लक्ष्य भन्दा बढी मुद्दा फैसला भएको न्यायधीस गौतमको भनाइ छ । सबैभन्दा पुराना १३ महिनाको दुई वटा मुद्दामात्र बाँकी रहेको उनले जानकारी दिए । यस वर्ष १०६ वटा मुद्दा फैसला हुन नसकेको अदालतले जनाएको छ । दरवन्दी अनुसारका स्थायी कर्मचारी नहुँदा कार्यसम्पादनमा समेत असहज भएको न्यायधीश गौतमले बताए ।