केशव समर्पण
मंगलबार, असार ३१, २०७६
296

हेटौंडा-अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्रदेश ३ मा हालसम्म १७ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । असार २६ गते बेलुकादेखि सोमबार दिउँसोसम्ममा प्राकृतिक विपद्मा परी १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै महिला र बालिका रहेका छन् ।
मृत्यु हुनेमध्ये सात जना महिला, छ जना बालिका र चार जना पुरुष रहेका छन् । घाइते १३ जनामध्ये पाँच महिला, छ पुरुष र एक-एक बालक र बालिका रहेका छन् । पाँच जना बेपत्ता भएकामध्ये तीन जना पुरुष र एक-एक महिला र बालिका रहेको प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यस अवधिमा मकवानपुरमा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सोमबार दिउँसोसम्ममा बाढी पहिरोका कारण मकवानपुरमा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । त्यस्तै सिन्धुलीमा चार जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । दुईजना घाइते भएका छन् । काभ्रेमा तीन जनाको मृत्यु हुनुको साथै दुई जना घाइते छन् । धादिङमा दुईजनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता रहेको र एक जना घाइते अवस्थामा रहेको प्रदेश ३ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
त्यस्तै बाढी पहिरोका कारण सिन्धुलीमा पनि दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था अज्ञात रहेको छ । सिन्धुलीमा दुई पुरुष र एक महिला गरी तीन जना घाइते भएको पौडेलले बताए । उनका अनुसार चितवनमा एक पुरुषले ज्यान गुमाएका छन् भने एक जना घाइते रहेका छन् । दोलखामा पनि एक जना घाइते अवस्थामा छन् ।
बाढी पहिरोमा फसेका चारसय २३ जनालाई हालसम्म उद्धार तथा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार बाढी पहिरोले हालसम्म १९ वटा घरगोठमा क्षति पु-याएको छ भने सवारी साधन तथा पशु चौपायमा पनि क्षति पुगेको छ ।
बाढी पहिरोका कारण मानवीय तथा भौतिक क्षति बढेसँगै उद्दारको लागि व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश ३ मा करिब तीन हजार भन्दा बढी प्रहरीहरु बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा खटिएको प्रहरी प्रवक्ता पौडेलले बताए । कार्यालय, कारागार र हिरासतको सुरक्षामा रहेका बाहेक सबै प्रहरीहरु बाढी उद्दार र राहतमा खटाइएको उनले बताए ।
मुख्य राजमार्गमा बाढी पहिरोका कारण हुने अवरोध हटाउनको लागि पनि प्रहरी चौबिसै घण्टा खटिएको जनाएको छ । सोमबार दिउँसोसम्ममा हेटौंडा–सिस्नेरी–काठमाडौं सडकखण्ड बाहेक सबै सडक सुचारु भएको छ । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन लोकपथमा भएको अवरोध हटिसकेको छ भने विपी राजमार्गअन्तर्गतको काभ्रे–सिन्धुली खण्डमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको छ ।
प्राकृतिक विपदको घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश ३ सरकारले राहतस्वरुप एक लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई एक लाख र प्रदेश मातहतका अस्पतालमा घाइतेको उपचार गराएमा उपचार खर्चबापत बढीमा २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

देशभर ६७ को मृत्यु
वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी सोमबार दिउँसोसम्ममा ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।
बाढीपहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।