कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
379

भ्रामक समाचारमार्फत् सर्वसाधारण जनतामा घृणा फैलाएको अभियोगमा ललितपुर जिल्ला अदालतले आर्थिक राष्ट्रिय दैनिकलाई दोषी ठहर गरेको छ । तथ्यहीन समाचार संपे्रषण गरी भ्रम फैलाएको अभियोगमा आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाल, चाहना पब्लिकेशन प्रालि, सञ्चालक रामप्रसाद पुडासैनी र संवाददाता रोशन कार्कीलाई जनही २० हजार रुपैयाँ जरिबाना गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ ।
चौधरी ग्रुपले कम्पनीको बारेमा भ्रामक, अतिरञ्जनापूर्ण र तथ्यहीन सामग्री संप्रेषण गरी कम्पनीविरुद्ध दुराग्रहपूर्ण ढंगले दुष्प्रचार गरी जनतामा भ्रम फैलाएको भन्दै दायर गरेको मुद्दामा मुलुकी अपराध संहिता,२०७४ को दफा ३०७ को उपदफा १ (२) अनुसार चाहना पब्लिकेशन प्रालिसहित प्रतिवादीहरु पुडासैनी, रिजाल र कार्कीलाई जरिबानाको फैसला सुनाएको हो ।

जिल्ला अदालत ललितपुरले सरकारले पनि असुली गर्न सकेन चौधरी ग्रुपसँग करछलीको रकम, विचाराधीन मुद्दालाई प्रभाव पार्दै चौधरी समूह आर्थिक अपराधमा संलग्न, आयल निगमको १२ बिगाहा जग्गा आफ्नो नाममा गर्न चौधरीको दबाब, सरकारी कर्मचारीहरुलाई समेत प्रभाव पारी सीजी पार्कको नाममा सरकारी जग्गा अतिक्रमण जस्ता शीर्षकमा भ्रामक र कपोकल्पित समाचारहरु संप्रेषण भएको ठहर गरेको छ । ती समाचारमा अनावश्यक रुपमा चौधरी ग्रुप आबद्ध परिवारका सदस्यहरुको तस्बिरसमेत संप्रेषण गरी सर्वसाधारणलाई सुसूचित गराउने भन्दा जनताप्रति घृणा फैलाउने गरी चौधरी ग्रुप र त्यसमा आबद्ध व्यवसायीको सुनियोजित रुपमा चरित्र हत्या गरिएको अदालतको ठहर छ ।
चौधरी ग्रुपका लोकप्रिय उत्पादनहरुका बारेमा आर्थिक दैनिकले श्रृंखलाबद्ध रुपमा तथ्यहीन समाचार संप्रेषण गरेपछि चौधरी ग्रुप कानुनी उपचारका लागि अदालत पुगेको थियो ।