कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
435

भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा एक प्रहरी र विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ ।
भोजपुर बजारमा ड्युटीमा रहेका प्रहरीमाथि बुधबार बिहान पौने ९ बजे भिडन्त हुँदा प्रहरी जवान सन्जिव राई र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् । बुधबारे बजार आसपासमा विप्लव कार्यकर्ता हुनसक्ने गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई विप्लव कार्यकर्ताले गोली चलाएको खतिवडाले जानकारी दिए । त्यस्तै प्रहरी प्रतिकारमा उत्रँदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको उनले बताए ।

मृत्यु हुनेमा षडानन्द नगरपालिका बोयाका विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई रहेका छन् । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ । राई भोजपुर नगरपालिका वडा नं. ७ मा रहेको हटिया अगाडि पसलमा करिब बिहान ८ बजे होटलमा पुगेको स्थानीयले बताएका छन् । एक प्रत्यक्षदर्शी स्थानीयले विप्लव कार्यकता निरकुमार राई र प्रहरी राई होटलमा गफ गर्दै चिया पिएको बताए । चिया पिउँदै गफ गरिरहेका दुवैजना बाहिर जान खोजेपछि मेरो साथी आउँदैछन्, सँगै निस्कनुपर्छ भन्दै सञ्जीवले पक्रिएको स्थानीयले सुनाए । ‘प्रशान्त’ भनिने निरकुमार पिसाब फेर्न जाने भनी निस्कन खोज्दा प्रहरी सञ्जीवले पक्रिएपछि ठेलाठेल हुँदा सञ्जीवमाथि गोली चलेकोे अर्का एक स्थानीय प्रत्यक्षदर्शीले सुनाए ।
भोजपुर बजार नजिकै रहेको हटिया आसपासमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको हुनसक्ने गोप्य सूचनाको आधारमा त्यस्ता मान्छेलाई नियन्त्रणमा लिने अभिप्रायले सादा पोषाकमा उक्त क्षेत्रतर्फ प्रहरी खटिएको र शनिबारे हटिया नजिकै रहेको पानधारे होटलमा एक जना शंकास्पद मानिस भेटिएको हुँदा उक्त मानिसलाई पक्राउ गर्ने प्रयास गर्दा अचानक प्रहरी सञ्जीवमाथि गोली प्रहार भएको प्रमुख जिल्ला अधिकारी खतिवाडाले बताए । कार्यकर्ता राईले प्रहरी सञ्जीवको कोखामा गोली प्रहार गरेपछि सँगै रहेका प्रहरीले आफ्ना साथीलाई जोगाउने र निरकुमार राइलाई पक्राउ गर्न खोज्दा गोली लागेको खतिवडाको भनाइ छ ।
यता, नेत्रविक्रम चन्द ‘विप्लव’का एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेको छ । “‘प्रशान्त ओखलढुंगा सेक्रेटरी हुन् । उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्,” विप्लव समूहका एक नेताले भने, “प्रशान्त निःसस्त्र थिए, प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागी उनको मृत्यु भएको हो ।”
संखुवासभामा हालै भएको दोहोरो भिडन्तपछि विप्लवका कार्यकर्ता भोजपुर छिरेको हुन सक्ने आशंकामा भोजपुरको प्रत्येक क्षेत्रमा सुरक्षा गस्ती बढाएको र भोजपुर सदरमुकाम नजिकै रहेको हटिया आसपासमा कार्यकर्ताको गतिविधि बढेको गोप्य सूचनाका आधारमा प्रहरी गस्ती गर्ने क्रममा विप्लवका कार्यकर्तासँग गोली हानाहान भएको जिल्ला प्रहरी कायालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । गोली हानाहानमा प्रहरी जवान खेमनाथ भट्टराई समेत घाइते भएका छन् । भट्टराईको कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि आक्रमण भएपछि भोजपुरमा सुरक्षा स्थिति कडा पारिएको छ । जिल्लामा शान्ति सुरक्षाको स्थिति नबिग्रिएका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताएका छन् । यसअघि पनि भोजपुर ट्याम्केमैयुङको धोद्रेमा आफ्ना एक कार्यकर्ताको ज्यान गएपछि विप्लवका कार्यकता आक्रामक भएका थिए । उनीहरुले असार १८ गते ट्याम्केमैयुङ गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा आगजनी र तोडफोडसमेत गरेका थिए भने सोहि दिन भोजपुरको देउराली चोकमा बम भेटिएको थियो ।

अर्जुन बस्नेत