नीरज पिठाकोटे
सोमवार, असार २३, २०७६
469

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेको सुशील बनस्पति घ्यु उद्योगमा शनिबार बिहान लागेको आगो १४ घण्टापछि मात्रै नियन्त्रणमा आएको छ । वीरगन्ज महानगरपालिका–२१ लिपनी विर्ताको परवानीपुरमा रहेको शनिबार बिहान २ बजे विद्युत् सर्ट भएर भएको आगलागी, अपराह्न ४ बजेपछि मात्र नियन्त्रणमा आएको हो । घ्यु उद्योगमा लागेको आगो निभाउन वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज डिपोको केमिकलयुक्त गरी ५ वटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको निरन्तर प्रयासपछि मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उद्योगमा कार्यरत लेबर इन्चार्ज बृज यादवका अनुसार तोरी र सोयाबिनको तेल उत्पादन गर्ने उद्योगमा बिजुलीको तार सर्ट भएर आगो लागेको हो । आगलागीका कारण उद्योग परिसरमा भण्डारण गरेर राखिएका तयारी तोरीको तेल र सोयाबिनको तोल, कच्चा पदार्थ तोरी, तोरी प्रशोधन गरी तेल प्याकिङ गर्ने ६ वटा ठूला मेसिनका साथै गोदाम घर पनि जलेर नष्ट भएकाले २५ करोडभन्दा बढिकै क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका प्रशाकीय अधिकृत विमल शर्माले बताए । आगलागी नियन्त्रणमा लिन धेरै समय लागेको र साँझ ६ बजेसम्ममा पनि तोरीको बोरामा सल्किएको आगोल पूर्णरूपमा ननिभेकाले पूर्णरूपमा नियन्त्रणमा लिएर मुचुल्का बनाएपछि मात्रै क्षतिको यकिन तथ्यांक आउने प्रहरीले जनाएको छ । घटनामा भएको क्षतिको प्रकृति र उद्योगको दाबीलाई नै आधार मानेर क्षतिको यकिन हुने पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।
आगलागीका यस्ता ठूला घटनाबाट धेरै जनधनको क्षति हुने गरेकाले औद्योगिक करिडोरका उद्योगीहरूले धेरै समयदेखि करिडोरमा छुट्टै अत्याधुनिक प्रविधिसहितको वारुणयन्त्रणको माग गर्दै आएका छन् । उच्च प्रविधि सहितको वारुणयन्त्रण नहुँदा औद्योगिक तथा आर्थिक नगरी वीरगन्जलगायतका आसपासमा आगलागी हुँदा ठूलो धनजनको क्षति बेहोर्नु परिरहेको छ । आगलागीबाट बच्नका लागि पूर्वसावधानी तथा पूर्वतयारीहरूको पनि उचित व्यावस्था नहुँदा आगलागीका घटना भइहाले तत्काल नियन्त्रणमा लिएर क्षति न्यूनीकरणका लागि समेत पर्याप्त दक्ष जनशक्ति र उपकरणहरू नहुँदा धेरै नोक्सानी हुने गरेको उद्योगी व्यवसायीहरूले बताउने गरेका छन् । यस्ता ठूला आगलागीका घटनाहरू पटक–पटक हुँदा ठूलो नोक्सानी बेहोर्दै आउनुपरेकाले उद्योगी व्यवसायीहरूले पनि सुरक्षित मापदण्ड अपनाउनुपर्नेमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको भनाइ छ ।