कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
508

सिन्धुली- नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि भएको सांघातिक आक्रमण तथा कुटपीटको विरोधमा सिन्धुलीका पत्रकारहरुले धर्ना दिएका छन् । घटनामा संलग्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकाससिंह स्याङ्तानलाई कारबाहीको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा एक घण्टा धर्ना दिएका हुन् ।
दिँउसो १२ बजेदेखि १ बजेसम्म भएको धर्ना कार्यक्रमपछि महासंघले ३ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्रसमेत बुझाएको छ । पत्रकार सुरक्षाको माग गर्दै पत्रकारद्वय कार्की र दाहालमाथि सांघातिक आक्रमण गर्ने प्रहरीलाई निलम्बन र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले शान्तिसुरक्षा कायम गर्न सरकारी पदधारण गरेका व्यक्तिबाट पत्रकारमाथि भएको आक्रमण निन्दनीय रहेको बताए । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न आफ्नो पक्षबाट सक्दो पहल गर्ने उनले प्रतिवद्धासमेत व्यक्त गरे । यस्तै महासंघले सादा पोशाकमा रहेका प्रहरीले गरेको सांघातिक आक्रमण तथा कुटपिटप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकारद्वय कार्की र दाहाल शनिबार राति करिब ९ बजेको समयमा कमलामाई नगरपालिका ६ शिवनगरको एक होटलमा खाजा खाँदै गरेको अवस्थामा सादा पोशाकमा रहेका २ जना प्रहरीले सांघातिक आक्रमण गरेका थिए । खाजा खाँदै गरेको अवस्थामा प्रहरी हवल्दार लामा र प्रहरी जवान स्याङतानले भिडियो खिचेपछि पत्रकारले भिडियो नखिच्न अनुरोध गर्दा उनीहरुले आक्रमण गरेका हुन् । बेहोस अवस्थामा सिन्धुली अस्पताल ल्याइएका कार्कीको टाउकोमा गम्भिर चोट देखिएपछि तत्काल काठमाडांै रिफर गरिएको थियो ।
यसैबीच सिन्धुलीका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बहालवाला प्रहरीलाई मदिरा खाएर जे पाए त्यो गर्ने छुट नभएको भन्दै दोषि ठहरिए बिभागीय कारबाहि हुने प्रतिक्रिया दिएका छन् । उनका अनुसार घटनापछि कुटपिटमा संलग्न दुबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।