कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
289

विराटनगर-सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुनेमा सरोकारवालाले नै आशंका व्यक्त गरेका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिले मजदुरले बुझाएको करको भरमा सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याए पनि यसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण देखिएको बताएका हुन् । नेपाल ट्रेड युनियन कांग्रेस मोरङको शनिबार विराटनगरमा सम्पन्न जिल्ला परिषद् भेला उद्घाटन कार्यक्रममा बोल्दै पेशागत संस्थाका वक्ताले सामाजिक सुरक्षा कोषमा निकै ठूलो रकम जम्मा भए पनि त्यसको व्यवस्थापन कठिन भएको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले मजदुरको हितबिना राष्ट्रको विकास सम्भव नहुने बताए । “मजदुरको यो योगदान बिना मुलुक बन्दैन । मजदुरको अवस्थामा सुधार ल्याउन सरकार गम्भीर हुनुपर्छ,” उनले भने, “कार्यक्रम ल्याएर मात्रै हुँदैन कार्यान्वयनमा पनि सरकारले ध्यान दिनुपर्छ ।” मजदुुरको सरकार भनेर दाबी गर्नेहरूले अहिले मजदुरमैत्री व्यवस्था ल्याउन नसकेको उनको भनाइ थियो । बस्नेतले खाडी गएर नेपाली युवकले श्रम नगर्ने हो भने देशको अर्थतन्त्र नै ‘कोल्याप्स’ हुने बताए । उनले भने, “यदि विदेशमा श्रम गरेर युवाले पैसा नपठाउने हो भने आर्थिक रुपमा मुलुक टाट पल्टिने थियो ।”
ट्रेड युनियन कांग्रेसका प्रदेश–१ अध्यक्ष नाराणबाबु कार्कीले सरकारको गतिविधि मजदुरमैत्री नरहेको टिप्पणी गरे ।
नेपाल कारखाना मजुदर संघका अध्यक्ष श्रीप्रसाद साहले निकै ढिलो गरी सामाजिक सुरक्षा कार्यक्रम आए पनि रोजगारदाताहरू त्यसमा सहभागी हुन अनिच्छुक देखिएको बताउँदै कोषको रकम दुरुपयोग हुने हो कि भन्ने चिन्ता थपिएको बताए । उनले यसको कार्यान्वयन पक्षबारे स्वयम् मजदुरहरू नै सशंकित रहेको स्पष्ट पारे ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वकेन्द्रीय सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरको विषयमा सरकार निकै उदासीन भएको आरोप लगाए । उनले सरकारको गतिविधिले सरकार मजदुर र श्रमिकमैत्री छैन भन्ने पुष्टि हुँदै गएको दाबी गरे । जिल्ला अध्यक्ष सुशील कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शान्ता पौडेल, नेपाल तरुण दलका मोरङ अध्यक्ष सञ्जय थापा, कांग्रेसका विराटनगर कार्यबाहक अध्यक्ष अरुण न्यौपाने, नेविसंघका पूर्वकेन्द्रीय सहमहामन्त्री कृष्ण कार्की, महिला संघकी प्रमिला थापालगायतले मजदुर र श्रमिक वर्गको हितबिना देश विकास सम्भव नहुनेमा जोड दिए ।