कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६
470

इलाम-गएको वर्ष शिशु जन्मँदा पोषण र मृत्युमा दाहसंस्कार खर्च दिने निर्णयले चर्चा कमाएको इलामको देउमाई नगरपालिकाले यस वर्ष मृगौला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मृगौला फेल भएर प्रत्यारोपण गराएका बिरामीहरुलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो ।
नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले निर्वाह भत्ता स्वरुप मासिक ३५ सय रुपैयाँ दिने निर्णय भएको बताए । आगामी साउन महिनादेखि उक्त रकम वितरण गरिने छ । साउन सुरुदेखि नगरभित्र मृगौला रोगीको तथ्यांक संकलन गरिने छ । मृगौला पीडितहरुलाई थोरै भए पनि राहत पु-याउन यो कार्यक्रम ल्याएको नगर प्रमुख पोख्रेलले बताए ।

यसपालिको नगरसभाबाट यो निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए । मृगौला पीडितका परिवारले उपचार गराउनमा नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा नै अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने गरेकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताए । यो कार्यक्रमले मृगौला पीडित नगरवासीलाई राहत मिल्ने उनको आशा छ ।
नगरभित्र यस्ता बिरामी कति छन् हाल यकिन तथ्यांक हालसम्म छैन । अब यसको तथ्यांक संकलन गरेर काम अगाडि बढाउने बताइएको छ । निर्वाह भत्ता पाउन परिवार र अस्पतालले प्रमाणित गरेको हुनुबपर्ने छ ।
सरकारले पनि दिर्घरोगीहरुलाई उपचार खर्च भनेर यसअघि नै नगद एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । नगरपालिकाको यस निर्णयले मृगौला पीडित, उनका परिवार नगरवासी खुसी भएका छन् ।