नीरज पिठाकोटे
बिहिवार, असार ५, २०७६
345

घर परिवार गुमाएर दुःखी छौं, अझै दुःखी नबनाइयोस:हावाहुरी पीडित


गत चैत १७ गते आएको हावाहुरी पीडितले प्रभावित क्षेत्रमा गएका सबैसँग घर निर्माणमा नाम छुटेको गुनासो पोख्ने गरेका छन् । बाराको परवानीपुर र फेटा गाउँपालिकाका स्थानीय हावाहुरी पीडितले घर निर्माणको सूचीमा नपरेको भन्दै आन्दोलन गरेर गाउँपालिका तथा वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । वास्तविक हावाहुरी पीडितले आफूहरूको नाम घर निर्माणको सूचीमा नपरेको भन्दै आन्दोलन गरिरहेका बेला बाराकै सुवर्ण गाउँपालिकाका केही जनप्रतिनिधिले भने पहुँचको भरमा अधिकार दुरुपयोग गरेर आफ्ना घर परिवारको नाम घर निर्माणको सूचीमा पारेका छन् । सुवर्ण गाउँपालिका–४ का दुईजना वडा सदस्यले हावाहुरीले घरमा पूर्ण क्षति नपु¥याए पनि आफ्ना घर परिवारका सदस्यको नाम घर निर्माणको सूचीमा पार्न सफल भएका हुन् । वडा सदस्य जटाशंकरप्रसाद यादव र दलित महिला सदस्य मन्तुरनी देवी रामले घर निर्माणको सूचीमा आफ्ना परिवारका सदस्यको नाम पारेका छन् । वडा सदस्य यादवले आफ्ना बुबा र तीनजना दाजुभाइको नाम घर निर्माणको सूचीमा पारेको स्थानीयबासीले बताएका छन् । यादवले आफ्ना बुबा वासुदेवप्रसाद यादव, दाइ विन्देश्वरीप्रसाद यादव, भाइहरू बद्रीप्रसाद यादव र रामबाबुप्रसाद यादवको नाम घर निर्माणको सूचीमा पारेका हुन् । वडा सदस्य मन्तुरनी रामले आफ्ना छोराहरू रंजितप्रसाद राम र अंजितप्रसाद रामको नाम घर निर्माणको सूचीमा पारेका हुन् । सुवर्ण गाउँपालिका वडा नम्बर–४ मा पक्की घर भएकाले पनि भनसुनको आधारमा घर निर्माणको सूचीमा आफ्नो नाम समावेश गराउन सफल भएका छन् । स्थानीय बहिदारप्रसाद यादव र रूपनारायणप्रसाद यादवको पक्की घरमा क्षति नपु¥याए पनि घर निर्माणको सूचीमा आफूहरूको नाम समावेश गराएको पाइएको छ । वडा सदस्य यादवका घरका चारजना सदस्यमध्ये दुईजनाको घर निर्माणसमेत भइसकेको छ । वडा सदस्य मन्तुरनी देवी रामले आफ्ना दुईजना छोराको पनि घर निर्माण गराइसकेकी छन । वडा नम्बर–४ का वडाध्यक्ष दोलेन्द्रप्रसाद यादवले केही गैरपीडितको घर निर्माण भएको स्वीकार गर्दै त्यसको दोषी जिल्ला प्रशासन कार्यालय भएको आरोप लगाएका छन् ।

सुवर्ण गाउँपालिकामात्रै होइन सबैभन्दा बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा पनि समस्या उस्तै छ । हावाहुरीले परिवार गुमाएकाले समेत अहिले घर निर्माणको सूचीमा नाम दर्ता हुन सकेको छैन । फेटा गाउँपालिकाको वडा नम्बर ६ पुरैनिया सबैभन्दा बढी प्रभावित गाउँ हो । त्यहाँ सुरुमा प्रहरीले संकलन गरेको तथ्यांकमा ८९ वटा पूर्ण क्षति भएको घर थिए । पछि स्थानीय जनप्रतिनिधिले संकलन गरेको लगतमा ८८ वटा घर थियो । तर, त्यसभन्दा बाहेक अर्को ६८ वटा घरको घर निर्माणको सूची आयो । त्यो कहाँबाट आयो भन्ने दुवै निकायलाई जानकारी छैन । वडा नम्बर ६ का वडाध्यक्ष जाकिर हुसैन मियाँ भन्छन्, “हामीले संकलन गरेको तथ्यांक र प्रहरीले संकलन गरेको तथ्यांकभन्दा पनि फरक तथ्यांकको लिस्ट आयो । त्यिो ६८ वटामा पूर्णरूपमा क्षति नभएकाको पनि नाम सूचीमा परेपछि उनीहरूले घर भत्काए । अब उनीहरूको पनि घर त बन्नुप¥यो । सिडीओसाप आफंै आएर अनुगमन निरीक्षण गर्नुभयो पनि ३६ वटा काटिदिनुभयो, ३२ वटा सदर गरिदिुनभयो । झन समस्या जटिल बनेको छ । यहाँ घर निर्माणको सूचीमा नपर्नेहले भोट नदिएकालाई सूचीमा पारेनन् भन्ने आरोप लागेको छ । स्थानीय प्रशासनले पनि हाम्रो कुरालाई सुनिदिँदैन ।” खासगरी एक परिवारलाई एक घर भनेकोले संगोलमा बसेका परिवारलाई समस्या भएको छ । धेरै परिवार एकै घरमा बस्ने गरेका थिए । अब सरकारले निर्माण गरिदिने घरमा दुई कोठा मात्रै हुने भएपछि चारजना दाजुभाइ बस्ने गरेको संयुक्त परिवारलाई समस्या भएको वडाध्यक्ष मियाँको भनाई छ । स्थानीयले गालिगलौज र कुटपिट गर्ला भन्ने त्रासमा जनप्रतिनिधिहरू नै बस्नुपरेको उनी बताउँछन् । स्थानीय जफिर आलम भन्छन्, “सरकारले सेनामार्फत घर बनाइदिन्छ भनेपछि खुसी थियौं, मधेसको घर, सानो गोठजस्तै झुपडी पनि हुन्छन् । सिडीओ सर आउनुभयो हामी बसेको घरलाई पनि गोठ हो भान्सा हो भनेर काटिदिनुभयो । परिवारको सदस्य गुमाएका घरको पनि सूचीमा नाम परेन । कुनै लेखाजोखा नै छैन । हावाहुरीले घर परिवार गुमाएर दुःखी भएका छौं, अब अभैm दुःखी नबनाइयोस् ।” स्थानीय पीडित ऐनुल हक अन्सारी भन्छन्, “बुबाको ढाड भाँचियो । भतिजा पनि गुमायौं तर, घर निर्माणको सूचीमा हाम्रै नाम परेन ।” घर निर्माणको सूचीमा नाम नपर्नेले जनप्रतिनिधिहरूले पूर्वाग्रही ढंगले छुटाएको आरोप लगाउँछन् ।
घर निर्माणको सूचीमा नाम नपरेको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ४ का स्थानीय हावाहुरी पीडितले पनि वडा कार्यालयमा तालाबन्दी गरेका छन् । फेटा गाउँपालिका कार्यालयमा सोमबार दुईपक्षबीच झडप नै भएको थियो । हावाहुरी पीडितको नाममा स्थानीय तहले राजनीति गरेको स्थानीय प्रशासनको बुझाइ छ । स्थानीय तहका जनप्रतिनिधिले आफ्नो हिसाबले सूची बनाएर सिफारिस पेस गर्छन् । जिल्ला प्रशासन कार्यालयले आफ्नो हिसाबले सूची तयार पारेर पठाउछन् । दुवै सरोकारवाला निकायको समन्वयको अभावले बाराका हावाहुरी पीडित थप पीडामा परेका छन् ।