कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
352

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनामा मृत्यु भएकाको सनाखत भइसकेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका जोशीले जानकारी दिए ।
घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत् नेपालगञ्ज लगिएको छ । दुर्घटनाको केही समयपछि वर्षा भएका कारण उद्धारमा समस्या भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भीरमा बाटो खनेर उद्धारका लागि गएका थिए ।