कारोबार संवाददाता
सोमवार, असार २, २०७६
450

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले गुठीमाथिको हस्तक्षेप सनातन परम्परामाथिको आक्रमण भएको बताएका छन् । आइतबार संसदमा बोल्दै लिङ्देनले भने, “किराँतकालबाट प्रारम्भ भई लिच्छविकालमा विकसित भएको गुठीमाथिको हस्तक्षेप गुठियारमाथिको हस्तक्षेप केवल गुठियारमाथिको हस्तक्षेप मात्र होइन, सनातन परम्परामाथिको आक्रमण हो ।”
उनले नेवारहरुलाई नेवाः राज्य नै दिन्छु भन्नेहरु सत्तामा भएका बेलामा नेवारको गुठी नै खोसिदिने ? भन्दै प्रश्न पनि गरे । विधेयकको विरोधमा काठमाडौंका हजारौं जनता सडकमा प्रदर्शन गरिरहेको भन्दै उनले स्थिति बिग्रनुअघि नै गुठीसम्बन्धी विधेयक फिर्ता लिन पनि सरकारसँग आग्रह गरे । “आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिढ्याउने ढंगले गुठी परम्परा सामन्तवादको प्रतीक हो भन्नु आगोमा घ्यु थप्ने काम हो,” सांसद लिङ्देनले भने, “सनातन परम्परा हाम्रो स्थायित्व र पहिचानको महत्वपूर्ण आधारस्तम्भ हो । यसमाथिको आक्रमण अविलम्ब रोकियोस् ।”