कारोबार संवाददाता
सोमवार, असार २, २०७६
460

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको कामकारवाहीको खुलेर प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गरिन् ।
आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गराइन् । लोकसेवा आयोगले परीक्षण पद्धतिलाई समयसापेक्ष बनाउने प्रयोस गरिरहेको पनि राष्ट्रपति भण्डारीको भनाइ छ ।
राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन् ।

‘नागरिकको विश्वास गुम्न नदिन आयोग सचेत छ’
कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताए । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे ।
उनले प्रदेश लोकसेवा आयोग गठन छिटो होस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त, आधार र मापदण्डसम्बन्धी जानकारी संसदीय समितिमा पनि पेश गरिएको जानकारी दिए । अध्यक्ष मैनालीले आयोगले आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि बढाएको दावी पनि गरे । अध्यक्ष मैनालीले नागरिकहरु र विशेष गरी युवाहरुको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको बताए ।