कारोबार संवाददाता
सोमवार, असार २, २०७६
495

गुठी विधेयक सनातन हिन्दू धर्मसंस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दू युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा बिहान साढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्तरक्रिया, ७ गते गुठी ऐनको विरोधमा सभा गर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका महासचिव रोशन जंग बस्नेतले जनाए । यसैगरी, १० गते गुठी विधेयकविरुद्ध देशभर कडा आन्दोलन गर्ने उनको भनाइ छ ।

समितिका सभापति सागर थापाले देशमा धर्मसंस्कृतिविरुद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्व नै खतरामा परेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा लागेको आरोप लगाए । हिन्दू धर्ममाथि बाह्य इशारामा निरन्तर प्रहार भइरहेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए । पशुपति भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारीले धर्मको रक्षा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । स्वामी रामबाबाले धर्मनाश गर्ने उद्देश्यले गुठी प्रथा सक्ने क्रियाकलाप भएको बताए । बैंकटेश्वर पिठाधिष स्वामी पद्मधराचार्यले लामो योजना अनुसार अहिलेका गतिविधि भइरहेको दाबी गरे ।
कार्यक्रममा विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले विधेयक फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न तयार हुन आग्रह गरिन् ।