कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
242

नेपाल पत्रकार महासंघले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणका आन्दोलनको कार्यक्रम तय गरेको छ । दुई चरणको आन्दोलन पूर्णरुपमा सफल भएको निष्कर्ष महासंघले निकालेको छ । महासंघले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन सरकारसँग पुनः माग गरेको छ । विधेयक फिर्ता नभएसम्म सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।
तेश्रो चरणको आन्दोलनअन्तर्गत प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई बुझाउने, विधेयकविरुद्ध कार्टुन प्रदर्शनी, ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना, लालटिन जुलुश, सिटी जुलुस र सभालगायत छन् ।