कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
144

हेटौंडा- कारोबार दैनिकका मकवानपुर संवाददाता केशव समर्पण सर्वोत्कृष्ट आर्थिक पत्रकार घोषित भएका छन् । दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड–२०७६ मा समर्पणले सर्वोत्कृष्ट आर्थिक पत्रकारिता अवार्ड जितेका हुन् ।
उत्कृष्ट ३ मा छानिएका नयाँ पत्रिका दैनिकका संवादाता सुदीप शिवाकोटी र लालखबर डटकमका राज सापकोटालाई पछि पार्दै निर्णयक समूहले समर्पणलाई सर्वोत्कृष्ट आर्थिक पत्रकार घोषित गरेको हो । नगदसहित उनलाई अवार्ड प्रदान गरिएको थियो । न्यू मिडिया एकेडेमी प्रालिले शनिबार साँझ विभिन्न ११ बिधामा अवार्ड वितरण गरेको थियो ।

जसमा साझा कुरा दैनिक हेटौंडाका सम्पादक सुवास बिडारीलाई सम्पादक वर्ष अवार्ड प्रदान गरियो । त्यस्तै एभिन्युज टेलिभिजनका राजन दाहालले सर्वोत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड पाउँदा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठले सर्वोत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड हात पारे । अन्नपूर्ण मिडिया नेटवर्कका कृष्ण सारु मगर सर्वोत्कृष्ट खोज पत्रकार घोषित भए भने प्रष्ट खबर डटकमका सुनिल शिवाकोटीले सर्वोत्कृष्ट अनलाईन पत्रकार घोषित हुँदै अवार्ड पाए ।
रेडियो थाहा सञ्चारका दर्शन क्षेत्रीले सर्वोत्कृष्ट रेडियो प्रस्तोताको अवार्ड पाए । प्रदेश दैनिकका सम्पादक गणेश अधिकारीले समाजिक पत्रकारिता अवार्ड पाउँदा कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारीले पुरुष पत्रकार वर्ष अवार्ड हात पारे । टिम टेलिभिजनकी नानीमाया सापकोटाले सर्वोत्कृष्ट महिला पत्रकार अवार्ड जित्दा रेडियो थाहा सञ्चारकी श्रीजना नेपाल नवोउदयीमान पत्रकार घोषित भई अवार्ड पाइन् ।
प्रालिका अध्यक्ष एवम् अवार्ड कार्यक्रमका संयोजक मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।¬