रासस
मंगलबार, जेठ २८, २०७६
386

विराटनगर-  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले गरेकोे कर्मचारीको मागलाई अनुचित भन्न नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, “प्रदेशस्तरमा लोकसेवा आयोग नबनिसकेको अवस्थामा कर्मचारी पदपूर्तिका लागि प्रक्रिया अघि बढाउनु अनुचित होइन ।” लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया समावेशी सिद्धान्तअनुसार अघि बढाएको भनेर आयोगले नै प्रष्ट गरेको पोखरेलको भनाइ छ ।
संवैधानिक अंगले संवैधानिक ढंगबाट अघि बढाएको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने पोखरेलले बताए । केन्द्रीय तहमा रहेका कर्मचारीले मात्र प्रदेश र स्थानीय तहमा अपुग हुने भएकाले आयोगले संविधानको व्यवस्था अनुरुप समावेशी सिद्धान्त अनुसार कर्मचारी पदपूर्ति गर्न खोजेको बताउँदै उनले भने, “कार्यपालिकाले यसमा हस्तक्षेप गर्न मिल्दैन ।” संविधानको व्यवस्थाअनुसार प्रदेशस्तरमा लोकसेवा आयोग बन्ने व्यवस्था रहेपनि अहिलेको अवस्थामा लोकसेवा आयोग नबनेकाले आयोगले कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाएको उनले बताए ।
संविधानमा गरिएको व्यवस्थालाई कार्यपालिका, न्यायपालिका तथा संवैधानिक अंग सबैले पालना गर्नुपर्नेमा पोखरेलको जोड छ । उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई थप व्यवस्थित बनाउने दाबी गरे । उनले भने, “प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि लडेको शक्ति अहिले सरकारमा रहेकाले विधेयकले प्रेसलाई नियन्त्रण गर्ने कुरा कल्पना समेत गर्न सकिँदैन ।”