गोपाल पोखरेल
मंगलबार, जेठ २८, २०७६
247


पाँच वर्षयता दुर्गम पहाडी क्षेत्र ताम्लिछाका विनोदकुमार खत्रीले मकै, कोदो र फापरसँग चामल साट्दै आएका छन् । उनी मकै, कोदो र फापर बेच्छन् । बिक्री गरेको पैसाले चामल किन्छन् । उनी भन्छन्, “मकै, कोदो र फापरसँग चामल साट्दैछु ।”

ग्रामीण क्षेत्रमा सामान्य मसिनो चामल प्रतिकेजी ५० रुपैयाँले बिक्री हुन्छ । बजारमा मकैको चामल (च्याँख्ला) ७० रुपैयाँ किलो बिक्री हुने गरेको छ । एक पाथी कोदोको १ सय रुपैयाँ लिने गाउँलेले दुई पाथी कोदो बेच्दा एक पाथी चामल खरिद गर्नसक्ने भएकाले पनि गाउँलेले चामललाई नै मुख्य खाद्यान्न बनाउँदै आएका छन् ।
गाउँमा फापर, कोदो र मकै प्रसस्त पाइन्छ । आफ्नै खेतबारीमा फापर, कोदो र मकै फले पनि धान फल्दैन । धानका लागि पानी प्रसस्त लाग्ने खेत चाहिन्छ । धान नभई चामल हँुदैन । त्यसैले पनि चामलका लागि उनीहरूले अन्य बाली बिक्री गर्नैपर्छ ।
कोदो, फापर र मकै पनि बारीमा फल्छ । त्यसका लागि खासै समस्या छैन । “उत्पादनमा समस्या नभए पनि ६÷७ वर्ष पहिलेसम्म कोदो, फापर र मकै बिक्री हँुदैन थियो,” विनोदले भने, “त्यसैले आपैंmले खानुपर्ने बाध्यता थियो ।” तर अहिले समय फेरिएकाले फापर, कोदो र मकै बिक्रीका लागि बजार लैजान नपर्ने उनले बताए ।
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा मकै, कोदो र फापरको पिठो बनाउने साना उद्योग खुलेका छन् । जताततै कच्ची सडक पुगेको छ । थोरै जनशक्ति प्रयोग गरेर पिठो बनाइन्छ र प्याकिङ गरेर बजारमा बिक्री गरिन्छ । फापर र कोदोको पिठो र मकैको च्याँख्ला बनाएर बिक्री गर्दा फाइदा हुने भएपछि विनोदजस्तै दुर्गमका सर्वसाधारण अहिले यो पेसामा लागेका छन् । ताम्लिछा, बलम्ता, बाराहा, रौता, पोखरी, लाफागाउ“, पञ्चावतीलगायतका गाउँमा मकै, कोदो र फापर प्रशोधन गर्ने मिल स्थापना भएका छन् ।
ताम्लिछा, बलम्ता, लाफागाउ“लगायतका स्थानमा पानी घट्टामा मकै, कोदो र फापर पिस्ने गरिन्छ । “पारखीहरू घट्टामा पिसेको मकै, कोदो र फापरको पिठो स्वादिलो हुन्छ भन्छन्,” रौताका गंगा मगर भन्छन्, “सहर बजारमा अहिले मकै, फापर र कोदोको पिठोको माग छ ।” विशेषगरी मधुमेह र उच्च रक्तचाप हुने सर्वसाधारणले यी खाद्यान्नको प्रयोग गर्ने गरेकाले माग बढेको उनले बताए ।
जताततै सडक विस्तार भएका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने र धानखेती नहुने सर्वसाधारणले बारीको उत्पादन सहजै बिक्री गरेर चामल खरिद गर्न पाएका छन् । गाउँघरमै बारीको उत्पादन बिक्री हुने र गाउँमै चामल खरिद गर्न सकिने भएकाले पनि पछिल्लो समय खेत हुने र नहुने किसानबीच कुनै फरक नरहेको बाराहाका व्यापारी अर्जुन खत्री बताउँछन् । गाउँमा मकै, कोदो र फापर खाने चलन हराएर गएको खत्रीको भनाइ छ । “धान खेत नहुने सर्वसाधारण पनि अन्य उत्पादन बिक्री गरेर चामल नै खरिद गर्छन्,” उनले भने, “त्यसैले पनि गाउँमा धनी र गरिबबीच खानपानमा खासै फरक छैन ।”
“पछिल्लो समय सहरी क्षेत्रमा मकै, कोदो र फापरको पिठोको माग धेरै छ,” गाईघाटका युवराज बस्नेतले भने, “विशेष गरेर मधुमेहका बिरामीले यी वस्तु खोज्ने गरेका छन् ।” तर मागअनुसार यी खाद्यान्न बजारमा आउन नसकेको उनले बताए ।