रासस
शुक्रवार, जेठ १०, २०७६
422

सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा बिहीबारसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा बिहीबारसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करिब ५ सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । बिहीबार बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले बताइन् । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए । त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक छ । आरोहण शृङ्खलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन् । 
कामिरिताको नयाँ कीर्तिमान सगरमाथा आरोहीको संख्या मात्रै हैन, आरोहणमा नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनले सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् । सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने यसअघि नै बताइसकेका छन् । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।सगरमाथा आरोहणमा अन्य नयाँ कीर्तिमान पनि बनेका छन् । यद्यपि, विभागले हालसम्म कति आरोहीले सगरमाथा चढे, कुन कुन कीर्तिमान भए भन्नेबारे पछि मात्र पूर्ण जानकारी गराउने जनाएको छ । अहिले विभिन्न एजेन्सीमार्फत जानकारीका आधारमा आरोहणको विवरण दिइएको विभागको भनाइ छ ।सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार दुई दिनयता बाक्लो संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । केही आरोही फर्कने क्रममा छन् । एक-दुई दिनमै सबै आरोही सगरमाथाको चुचुरो पुगिसक्ने जनाइएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले यस वर्षको आरोहण उत्साहजनक भएको बताए । मौसमले साथ दिए अबको तीनदेखि चार दिनभित्र धेरै संख्यामा आरोहीले सगरमाथाको आरोहण सक्ने जानकारी दिँदै उनले आरोहणमा गएका सबै आरोही अहिले क्याम्प २ भन्दा माथि रहेको बताए । केही समूह क्याम ४ मा पुगिसकेका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करिब ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । सगरमाथा आरोहणका लागि विदेशीलाई ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ । नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । भूगर्भविद् डा. हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् ।

सिवी अधिकारी-रासस