महादेव अवस्थी
मंगलबार, जेठ ७, २०७६
324

कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरस्थित मुक्तकमैया शिविरमा पानी भर्न साँझ बिहान कम्तीमा २ घण्टा लाइन बस्नुपर्ने बाध्यता छ । ५ सय घरपरिवार रहेको बस्तीमा ३ वटा पानीको धारा भए पनि एउटा धारामा मात्रै पानी आउने गरेको छ ।
“धारामा पानी पनि गाईले दूध दिए जत्तिकै आउँछ ।” पानी भर्नका लागि लाइनमा बसेकी लक्ष्मी औजीले भनिन्, “घरमा एकजनाको डिउटी त पानी भर्नमै हुन्छ ।” अरु बेलाभन्दा गर्मीयामका तीन महिना त प्यास मेटाउन मुस्किल हुने गरेको पानी भर्न लाइनमा बसेकी ती महिलाले बताइन् ।

२०५८ सालमा सरकारले मुक्तकमैया पुनःस्थापना गरे पनि त्यो बेलादेखि नै पानीको समस्या भोग्दै आएको अनिता थारुले बताइन् । उनले भनिन्, “सरकारले बासमात्र दियो अरु केही हेरेन, पानी नहँुदा खेत पनि बाँझै छ ।” गाउँमा खानेपानीका लागि हरेक दिन लाइन बस्नुपर्ने बाध्यता रहेकोे शिविरमा बस्दै आएकी सुनिता विकले बताइन् । मुक्त भएपछि यहाँ बसे यता हरेक वर्ष पानीको समस्या झेल्नु परेको उनको भनाइ छ । “सयौं परिवार रहेको गाउँमा मुस्किलले दुई÷तीनवटा नल्का (धारा) मा थोरैथोरै पानी आउँछ ।” विकले भनिन्, “यहाँ राति १२ बजेसम्म पनि पानी भर्न धारामा बस्नुपर्छ ।”
पानीकै कारण सिँचाइ समस्याले सरकारले दिएको जग्गा पनि बाँझै रहेको अनिता थारुले बताइन् । सिँचाइ अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको मुक्तकमैया बस्तीका स्थानीयवासीको दुःखेसो छ । थारुले भनिन्, “जहिल्यै तरकारी किनेर खानुपर्छ, आफ्नो खेत बाँझै हुन्छ अन्त अधिया बनाएर गुजारा चलाइराखेका छौं ।” उनले बस्तीमा पानीका लागि बोरिङ जडानको काम भए पनि निर्माण सुस्त रहेको बताए । स्थानीय कल्पना डगौराले १८ वर्षदेखि गाउँमा पानीको समस्या भोग्दै आएको बताइन् । उनले पानी नुहँदा नुहाउन र लत्ताकपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको सुनाए । उनले भनिन्, “चुनावको बेला नेताहरू आएर खानेपानी दिन्छौं भनेका थिए, त्यसपछि त यहाँ आउँदै आएनन् ।”
खेतमा सिँचाइ समस्याले उब्जनी नभए पछि बस्तीका महिला विभिन्न सीपमूलक तालिम गरेर च्याउखेती, बाख्रापालन, किराना पसल सञ्चालनमा लागेका छन् । खेतीका लागि आकाशे पानीको भरपर्ने मुक्तकमैयाले सिँचाइको व्यवस्था गर्न माग गरेका छन् । “सिँचाइ नै नहुँदा खेतमा मेहनतअनुसारको फल आउँदैन ।” डगौराले भनिन्, “गर्मीमा पानीको प्यास मेटाउनेकी खेतीका लागि आकाशमा हेर्ने भन्ने हुन्छ ।”

आर्थिक वर्ष ०७१÷०७२ मा बोरिङ निर्माणका लागि सरकारले आवश्यक बजेट नदिएकाले निर्माणकार्य रोकिएको वडाध्यक्ष गणेश विकले बताए । उनका अनुसार सरकारले बोरिङ निर्माणका लागि हालसम्म ४७ लाख ६० हजार रकममात्र उपलब्ध गराएको छ सो रकम पर्याप्त नभएकाले काम पूरा हुन नसकेको उनको भनाइ छ ।

वेदकोट नगरपालिका–५ स्थित मुक्तकमैया शिविरमा पानी भर्न लाइन बसेका स्थानीय महिला । तस्बिर ः कारोबार