कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
291

केही दिनदेखि लगातारको लोडसेडिङका कारण प्रदेश–१ कै सबैभन्दा ठूलो सरकारी अस्पताल कोसी अस्पतालको सेवा ठप्प भएको छ ।
दैनिक लोडसेडिङले अस्पतालको भिडियो एक्से–रे, सिटी स्क्यानलगायतका सेवा ठप्प भएको हो । अस्पतालको जेनेरेटरसमेत बिग्रिएर थन्किएको एक महिना हुन लाग्यो । विगतमा खासै लोडसेडिङ हुँदैन थियो विराटनगरमा । लोडसेडिङ हुन छाडेपछि अस्पतालले जेनेरेटर बनाउनेतर्फ खासै चासो दिएको थिएन ।

एक सातादेखि हरेक दिन बिहान ९ बजेदेखि २ बजेसम्म लोडसेडिङ भइरहेको अस्पतालका मेसु डा. रोशन पोखरेलले बताए । लोडसेडिङका कारण सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ । अस्पतालमा भएको एउटा जेनेरेटर २५ दिनदेखि बिग्रिएको र भाडामा लिएको जेनेरेटर पनि बिग्रिएपछि सेवा प्रवाहमा समस्या भएको हो । अस्पतालका मेसु पोखरेलले जेनेरेटर बनाउने काम भइरहेको जनाए । “यदि जेनेरेटर तत्काल बनेन भने भाडामा लिएर भए पनि सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने तयारी भइरहेको छ,” पोखरेलले भने, “सेवाग्राहीलाई समस्या भएको हामीले पनि महसुस गरेका छौं ।” एक सातादेखि विराटनगरमा अत्यधिक गर्मी बढेको छ ।
उपचारका लागि आउने बिरामीहरू भिडियो एक्से–रे, सिटी स्क्यानलगायत बन्द भएपछि मारमा परेका छन् । अझ उपचारकै लागि टाढाबाट आएका बिरामीलाई समस्या भएको छ । उनीहरू सरकारी अस्पतालमा सेवा बन्द भएपछि महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकबाट सेवा लिन बाध्य छन् । संघीय र प्रदेश सरकारले कोसी अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा स्तरोन्नति गर्ने भन्दै आएको छ ।
शिक्षण अस्पतालका रूपमा समेत कोसी अस्पताल विस्तार भइरहेको छ । कोसीमा झापा, मोरङ, सुनसरीसहित पूर्वी पहाडी जिल्ला, खोटाङ, ओखलढुंगा, तेह्रथुम, भोजपुर, धनकुटा, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङबाट समेत बिरामी आउने गरेका छन् । यसबाहेक प्रदेश–१ को सप्तरी, सिरहा, सर्लाहीदेखि पनि बिरामी आउँछन् । अस्पतालमा दैनिक १ हजार ४ सयभन्दा बढी बिरामी आउने गरेका छन् ।
विद्युत् अवरुद्ध हुँदा बिरामीलाई समस्या भएको छ । बेड भर्ना भएका बिरामीसमेत गर्मीले आलसतालस भएका छन् । विराटनगरमा सडक विस्तारका क्रममा बिजुलीको पोल सार्दा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । बिजुलीको पोल सारिसक्ने बित्तिकै विद्युत् अवरुद्धको समस्या हट्ने प्राधिकरणले दाबी गरेको छ ।